काठमाडौं । ललिता निवास जग्गा प्रकरणबारे सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरुसँगसमेत अनुसन्धान गर्ने अनुमति दिएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि पनि अनुसन्धान भइरहेको छ । नेपाल प्रधानमन्त्री भएका बेलामा विभागीय उपप्रधानमन्त्रीले उक्त ललिता निवासको जग्गा प्राप्त गरी विस्तार गर्ने सम्बन्धमा निर्णय भएको थियो । यसको स्वीकृत २०६६ साल चैत १९ गते भएको थियो ।
नेपाल पक्राउ पर्छन या पर्दैनन् चासोको विषय छ । हाल युरोपमा रहेका उनीमाथि पक्राउ गरेर अनुसन्धान हुन्छ कि पक्राउ नगरी नै अनुसन्धान हुन्छ भन्ने यकिन छैन । यस विषयमा सरकारको रणनीति कस्तो रहन्छ भन्ने विषय प्राथमिकता रहने गर्छ । तर उनी निकटका नेताहरु नेपालको बचाउमा उत्रिन थालेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल निर्दोष रहेको दाबी गरे । उनले भने,‘त्यसमा हामी प्रष्ट छौं । बालुवाटारमा प्रधानमन्त्रीको निवासलाई बिस्तार गर्नको लागि कुनै बेला नीतिगत निर्णय भयो । अब नीतिगत निर्णय गर्दैमा छानबिन हुने अनि कारबाही हुन थाल्यो भने त केही निर्णय नगरेर बस्नुपर्यो नि । यो चूनौति सामना तयार अध्यक्ष माधव नेपाल तयार हुनुहुन्छ । उहाँ त्यसमा एकदम निर्दोष हुनुहुन्छ । उहाँ क्लिन हुनुहुनछ । त्यतिमात्रै होईन, अहिलेसम्मको उहाँको राजनीतिक जीवन अत्यन्तै पारदर्शी पनि छ । स्वच्छ छविको नेताको रुपमा कसैको नाम लिईन्छ भने त्यो माधव नेपालको नाम लिईन्छ । यस्ता कुराले, तर्सिनुपर्दैन । यो चूनौतिको सामना गर्न उहाँ तयार हुनुहुन्छ । हाम्रो पार्टी तयार छ ।’
तर सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले दोषी जो भए पनि नछाड्ने निर्णय गरेको छ । यस्तोमा पूर्व प्रधानमन्त्रीद्धय माधव नेपाल र डा.बाबुराम भट्टराई पक्राउ पर्न सक्ने देखिएको छ । सर्वोच्चको आदेशपछि पूर्वप्रधानमन्त्रीसँग बयान लिने सम्भावनाबारे नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धान अधिकृतले अनुसन्धान गरिरहेको उल्लेख गर्दै कानुनी परामर्श चलिरहेको जानकारी दिए।