अस्ताए सुवास नेम्वाङ, यस्तो छ राजनीतिक पृष्ठभूमी - रुपान्तरण
 २०८१ जेठ ४, शुक्रबार    

अस्ताए सुवास नेम्वाङ, यस्तो छ राजनीतिक पृष्ठभूमी


ललितपुर । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको मंगलबार विहानको राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो ।

सरकारले नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको बताइन् । अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने निर्णय भएको उनले बताइन् ।

उनले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै स्व.नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्न सक्नु नै उनप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारको रहेको बताइन् ।

पार्टी कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री झलनाथ खनालले श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरे । साथै अन्य दलका नेता कार्यकर्ता पनि च्यासल पुगेर श्रद्धाञ्जली दिएका छन् ।

च्यासलमा शुभेच्छुकहरुको भीड छ । एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका हुन । उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनका दुई छोराहरु विदेशमा रहेकाले स्वदेश फर्केपछि मात्र बुधबार अन्तिम संस्कार गरिने जनाइएको छ । तर निश्चित भइसकेको छैन । अष्ट्रेलियामा रहेका उनका कान्छा छोरा भोलि बिहान र जेठा छोरा बेलायतबाट भोलि साँझसम्म आइपुग्नेछन् ।

यता, नेपाली कांग्रेसको आयोजनामा जारी वीपी साहित्य महोत्सव स्थगित भएको छ । नेम्वाङको निधनपछि महोत्सव स्थगित गरिएको कांग्रेस सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् । त्यस्तै एमालेले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको निधनपछि बसेको सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको हो ।

एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय एमालेले गरेको छ ।

नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गरेका थिए । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।। विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री पनि भएका थिए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत थिए ।