चीनमा व्यस्त प्रचण्ड - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

चीनमा व्यस्त प्रचण्ड


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए । प्रचण्डलाई विमानस्थलमा नाचगानसहित स्वागत गरिएको थियो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाट चीन पुगेका हुन् । प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री नाराणप्रकाश साउद र अन्य सदस्यहरु पनि रहेका छन् ।

प्रधानमन्त्री दाहाल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गरे । दाहाल चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए ।

प्रधानमन्त्री दाहाल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने छन्। बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन(नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने छन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि यहाँ आइपुगेका छन् ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने छन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्किने कार्यक्रम छ ।