मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद बिस्तार गरेका हुन् । जसमा २ जना मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

थपिएका मन्त्रीमा लिलाबल्लभ अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालय, बुद्धि कुमार राजभण्डारी खानेपानी सिंचाइ तथा उर्जा मन्त्री, रामप्रसाद महतो उद्योग कृषी तथा सहकारी राज्यमन्त्री नियुक्त हुनुभएको छ । त्यसैगरी निरन राई राज्यमन्त्री आर्थिक मामिला तथा योजना रहेका छन् । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार कार्कीले यही असोज २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । विश्वासको मत लिने मिति नजिकिदै गर्दा मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्नु भएको छ । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा अहिलेकै अवस्था हेर्दा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन त्यति सहज छैन । प्रदेशसभामा विश्वासको मतमा बहुमतका लागि ४७ प्रदेश सभा सांसदको समर्थन चाहिन्छ । हाल प्रदेश सभामा एमालेका ४०,नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । कार्कीले बहुमतका लागि कांग्रेस वा माओवादीको साथ लिनु पर्ने देखिएको छ । कांग्रेस वा माओवादीको साथ नलिए मुख्यमन्त्री कार्कीले बहुमत प्राप्तका लागि संख्या पुग्नेगरी अरु दलहरुको सहयोग लिनुपर्ने हुन्छ ।