नेपाल देखिने गरी प्रस्तुत भयो - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

नेपाल देखिने गरी प्रस्तुत भयो


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र सङ्घमा यस पटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन्। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको दाबी गरेका हुन्।

आफ्नो हालै सम्पन्न संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको बताए।

नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अतिकमविकसित मुलुकका हरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र सङ्घको महासभामा धारणा राखेको प्रधानमन्त्री दाहालको भनाई थियो।

उनले भने, ‘संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्री स्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन, तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अतिकमविकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ।’

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको बताए। उनले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार बिस्तार गर्ने विषयमा समेत बिस्तारपूर्वक छलफल भएको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘मित्र राष्ट्र चीनको औपचारिक भ्रमण चीनका महामहिम राष्ट्रपति सिजिन पीङले गर्नुभएको २०१९ पछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। कोभिड महामारीका कारण लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरण सुदृढ गर्दै दुवै देशबीच रही आएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु। यस भ्रमणको दौरानमा चीनका महामहिम राष्ट्रपति तथा प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको छ। विगतमा भएका समझदारीहरूको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको छ। चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने मैले राखेको धारणाप्रति महामहिम राष्ट्रपति र प्रधानमन्त्रीले चीनको पूर्ण समर्थन रहेको बताए।

उच्चस्तरीय भेटहरूमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमाना रहेको भूभागबाट केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्‍याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिड पछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनस चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माण जस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको थियो।

यसै गरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत विस्तारपूर्वक छलफल भयो। नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल–चीन बीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा गम्भीर विचार विमर्श भयो।

यसअघि मैले संयुक्त राष्ट्र सङ्घको महासभामा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशहरूमा परेका नकारात्मक प्रभाव र त्यसका निराकरणका उपायहरू, हिमाली राष्ट्रहरूका समस्या, दिगो विकासका लक्ष्यहरूको प्राप्तिमा अल्प विकसित राष्ट्रहरूको समस्याहरू प्रस्तुत गर्दै ती समस्या समाधानमा साधन, स्रोतको व्यवस्थापनका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु । समग्रमा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु।

चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकका भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ। उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुष्पवृष्टि भएको छ। राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ। पूर्वाधार निर्माण, व्यापार, लगानी, तथा जनस्तरको सम्बन्ध बिस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्ग प्रशस्त भएको छ। र, अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनिया नेताहरूको सद्भावमा वृद्धि भएको छ। ’

प्रधानमन्त्री दाहालले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि बताए।