कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गरौं - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गरौं


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन् । आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषबाट कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए ।

महामन्त्री थापाले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति निकाल्नुपर्ने बताए । उनले सरकारलाई तलबाट साथ दिने तर असहमतिमा असहमति जनाउन सक्नुपर्ने बताए ।

महामन्त्री थापाले प्रदेशको लागि बनाउनुपर्ने सबै कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए । उनले नेपालमा प्रदेश नहुँदै गर्दाको जति नै खर्च कम गरेर देखाइदिनुपर्ने बताए । आफैं संघीयता भनेर ल्याएर संविधानमा राख्ने र आफैँ काम भएन भन्न नहुने बताउँदै महामन्त्री थापाले समानुपातिक निर्वाचन प्रणालीमा दलको नेताको दादागिरी भएको बताए ।

महामन्त्री थापाले राष्ट्रपतिले संविधान दिवसको अवसरमा दिनुभएको आममाफीको चर्चा चलिरहेको भन्दै ५ वर्षमा ६ हजार ७२ जना मानिसले माफी पाएको बताए । उनले कानूनको दुरुपयोग गर्ने विषयको सन्दर्भमा अहिलेसम्म बनेको एउटा पनि सरकार चोखो नरहेको जिकिर गरे । महामन्त्री थापाले २०१५ सालमा राजा महेन्द्रले नेपालको संसदीय व्यवस्था अवरुद्ध नगरेको भए आज नेपालमा संवैधानिक राजतन्त्र रहने जिकिर गरे ।