प्राध्यापक डा.सुवेदीको नाममा स्थापित पुरस्कारबाट अमेरिकी प्राध्यापक विजयी - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

प्राध्यापक डा.सुवेदीको नाममा स्थापित पुरस्कारबाट अमेरिकी प्राध्यापक विजयी


लन्डन । द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ । सोसाइटीले ‘के सही भयो ?’ नेपालको जलविद्युत विकासमा दिगोपन विरुद्ध परनिर्भरता पुस्तकका लेखक प्राध्यापक मार्क लिक्टीलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।

पुरस्कार विजेता प्राध्यापक लिक्टी नेपालको आधुनिक संस्कृति र इतिहासमा अनुसन्धान विशेषज्ञता भएका दक्षिण एसियाली विशेषज्ञ हुन्। उनी अमेरिकाको शिकागोस्थित इलिनोय विश्वविद्यालयमा मानवविज्ञान र इतिहास विभागका प्राध्यापक हुन्। उनको प्राध्यापन विश्व इतिहास, दक्षिण एसियाली औपनिवेशिक इतिहास, संस्कृति सिद्धान्त, युवा संस्कृतिहरूमा केन्द्रित हुने गर्छ ।

सोसाइटीले गत वर्ष नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरि प्रा.सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना गरेको थियो । संसारभरबाट नेपालसम्बन्धि प्रकाशित पुस्तकले उक्त पुरस्कार पाउन सक्छन् ।

प्राध्यापक सुवेदीले नेपालबारे सकारात्मक सन्देश दिने पुस्तकका लेखकलाई आफ्नो नाममा स्थापित पुरस्कार दिइएकोमा खुशी व्यक्त गर्दै विजेतालाई बधाइ दिएका छन् ।

संस्कृतका विद्वान हेनरी टमस कोल्ब्रुकले सन् १८२३ मा स्थापना गरेको सोसाइटीले यस वर्ष ९सन् २०२३ मा० आफ्नो स्थापनाको २०० औं वर्षगाँठ मनाउँदै छ। नोबेल पुरस्कार विजेता भारतीय कवि रबिन्द्रनाथ टेगोर, प्राचीन ‘सिल्क रोड’ पत्ता लगाएका प्रसिद्ध पुरातत्वविद् सर अरियल स्टेन तथा ‘कामसूत्र’ लाई अंग्रेजीमा अनुवाद गर्ने विद्वान सर रिचार्ड बर्टन उक्त सोसाइटीका सदस्य रहिसकेका छन्।

सोसाइटीले एसियाली इतिहास, भाषा, संस्कृति र धर्मबारे अध्ययन, अनुसन्धान र प्रकाशनलाई सघाउनुका साथै विभिन्न विषयमा व्याख्यान तथा सेमिनारहरु पनि आयोजना गर्दछ। सोसाइटीको त्रैमासिक जर्नल क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छाप्ने गर्दछ ।

हाल बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सुवेदी नेपालको मात्र नभइ बेलायतको प्राज्ञिक क्षेत्रमा समेत स्थापित नाम हो । लमजुङमा जन्मीहुर्की अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने प्रा.सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली हुन् ।