इजरायलमा मारिएका १० नेपालीको शव ल्याउने तयारी - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

इजरायलमा मारिएका १० नेपालीको शव ल्याउने तयारी


काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।

इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्नेसमेत निर्णय गरेको छ ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ । यता, इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थी सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जानकारी दिएको छ ।

उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनबारे इजरायल सरकारका सम्बद्ध अधिकारीहरूसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १० मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।

'पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका, एक जना सम्पर्क विहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छु विज्ञप्तिमा छ,'मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।' मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ ।

त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसै सिलसिलामा इजरायल र हमासबीचको युद्धमा फसेका एक नेपाली विद्यार्थीले आफूहरूलाई तत्कालै नेपाल फर्काइदिन आग्रह गरेका छन् । प्रधानमन्त्रीका नाममा एक पत्र लेख्दै उनले आफूहरू बंकरमा भोकभोकै बसिरहेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका– २ का सुरज भण्डारीले आज २२ गते प्रधानमन्त्रीका नाममा पत्र लेखेका हुन् । यो पत्र उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

आफ्ना १० सहपाठीको निधनले स्तब्ध भएको भन्दै भण्डारीले देश फर्किन आतुर भएको लेखेका छन् । भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक अध्ययनरत छन् । उनी पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत गत महिना मात्र इजरायल पुगेका थिए ।

"