सुम्निमाको स्वैरकाल्पनिक खुवालुङ सभ्यता स्थल पुग्दा - रुपान्तरण
 २०७८ आश्विन १०, आईतबार    

सुम्निमाको स्वैरकाल्पनिक खुवालुङ सभ्यता स्थल पुग्दा


-हर्ष सुब्बा

खुवालुङ (त्रिवेणी)। साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’मा सप्तकोशी नदी किनारको सुन्दरता वर्णन गरिएको छ । त्यहाँको मिहिन बलौटे बगरमा छरिएका मानवीय समवेदनाका स्वैरकल्पनाहरु चलचित्र झैं चित्रण छन् । सुम्निमा मुलपात्रको वरिपरी घुमेको औपन्यासिक वर्णनमा लेखकले नेपालमा किराँती सभ्यता कोशी किनारको जीवनसंगै विकसित भएको देखाएका छन् । सुम्निमा–पारुहाङ राई समुदायको मन्धुममा श्रृष्टिकालिन आराध्य देवी-देवताका रुपमा उल्लेख हुन्छ ।

पछिल्लो समय सप्तकोशी नदीको जलमार्गमा अवरोध मानिएको विशाल चट्टान निकै चर्चामा छ । चट्टानलाई राई, लिम्बु, याक्खा, सुनुवार जातिले खुवालुङ, खवाक्लुङ, खोवालुङ, खोलुङ मान्दछन् । किराँत समूहबाट छुट्टाछुट्टै जातिको उत्पति र विकासक्रमसंग जोडिएका किम्बदन्ती अनेकौं छन् । खुवालुङ क्षेत्रमा विकसित किराँती सभ्यताका किम्बदन्तीसंग उपन्यासमा वर्णित कोशी किनारको प्रकृति उस्तै छ । अरुण–दुधकोशी, तमर-सप्तकोशी किनारमा पुग्दा ‘सुम्निमा’मा वर्णन गरिएका कल्पनातित दृष्यहरु यथार्थको नजिक देखिन्छन् ।

तमर-कोशी, अरुण-दुधकोशी किनारका फाँटिला मिहिन बलौटे बगर नजिकै पाखा-भित्ताका गाउँलेको जीवन शैलीले परम्परालाई पछ्याउन छोडेको छैन् । चहल पहल भने घटेको छ । २०५० को दशकसम्म चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको पदैलमार्गको मुख्य रुट थियो यो कोशी किनारको बाटो । ठाउँ ठाउँमा गएको पहिरो हटाएर बाटो खुलाइएको छैन् । सडक यातायाताका कारण मानिसहरु हिड्न छाडे । कुनै समय ढाकरमा बोकेर उपभोग्य समाग्रीको ढुवानी समेत हुने यो बाटो अहिले सुनसान छ । तमोर नदी तर्ने त्रिवेणीको झोलुङगे पुल जीर्ण बनेको छ । दुईछेउका जाली नहुँदा बाँसाका भाटाहरु लगाइएका छन् । टेक्ने ठाउँ कुनैपनि बेला भत्किने अवस्थामा छ ।

त्रिवेणीका ७० वर्षिय शंकरप्रसाद तामाङले भने ‘सप्तकोशीमा मोटर बोट सञ्चालन हुनथालेपछि गाउँलेहरु पनि पैदल हिड्न छाडे ।’ त्रिवेणी कुनै समय रातभर र दिनभर यात्रीहरुको चहल पहलले गुलजार रहने बजार थियो । चतराबाट पैदल बराहक्षेत्र हुँदै भोजपुर जाने यात्रीहरु विहानको भातखान त्रिवेणी आइपुग्थे । भोजपुरबाट फर्किनेहरु ढिलो भए त्रिवेणीमा बास बस्थे । यो ठाउँ भोजपुर-धनकुटा-सुनसरीको सिमास्थल पनि हो ।

त्रिवेणी सुकेपछि मुख्य बजार झोलुङगे पुलछेउका अधिकांश घरै खाली छोडेर हिडेका छन् । खाली घर, सुनसान सुङगुरको खोर, बाख्राको टाट्ना, कोठेबारीमा सुकेको खुर्सानीको बोट, विरक्त लाग्दो दृष्य देखिन्छ त्यहाँ । बाटोमा यात्रीका लागि बनाइएको काठका विसौनीहरु मक्किएका छन् । २२/२३ घर त्रिवेणीमा रहेको बताउँदै तामाङ भन्छन् ‘काम खोज्दै मानिसहरु शहर बजार तिर लागे, काम धन्धा गर्न नसक्ने बुढापाकाहरु छन्, कोही दिनभर कोशीमा माछा मार्छन् र सुकुटी बनाएर आम्दामी गर्छन् ।’

धनकुटाको शहीदभूमी गाउँपालिका–१ खाल्सा छिन्ताङ त्रिवेणीमा जिल्ला जनस्वास्थ्यको सामुदायीक स्वास्थ्य इकाई छिमेकी गाउँ साँगुरीगढी, वेलका नगरपालिकाका गाउँलेहरु आउने भएकाले सञ्चालनमा छ । अनमी शान्ता अधिकारी भन्छिन् ‘यहींका मानिसहरु थोरै भएपनि छिमेकी गाउँबाट स्वास्थ्य समस्या लिएर आउने गरेका छन् ।’ निम्न तहका स्थानिय जेटबोटको भाडा तिरेर चतरासम्म जान नसक्ने भएकाले स्वास्थ्य केन्द्र यहाँको आधारभूत आवश्यकता हो ।

नदी किनारमा विकासित खुवालुङ सभ्यता मुख्य रुपमा माछा मार्ने पछि खेती किसानी विकसित भएकाले त्यो परम्परा अहिले पनि जीवित छ । खुवालुङ नजिक माछा मार्दै गरेका कोशी किनार धनकुटा सागुरीगढी गाउँपालिकाका ६४ वर्षिय भयबहादुर राईले भने ‘हाम्रो पुर्खादेखी नै माछा मार्ने चलन चलिआएको हो ।’ विहान ९/१० बजे र दिउँसो ३/४ बजे सम्म नदीमा माछा जालमा पर्ने उनको भनाई छ । दिनमा ६ केजी सम्म स–साना माछा मार्दै आएका उनले कोशीमा १० केजी सम्मको माछा जालमा पर्ने बताए ।

नदी किनारका भित्तामा ठोक्किने भङगालोमा युवाहरु जोखिमपूर्ण तरिकाले ठूला माछाको शिकार गरिरहेका देखिन्छन् । त्यहाँ लिम्बुनी प्रजातिको ठूला माछा, काँटी, जलकपुर सहितका साना-मझौला माछा पाइने भयबहादुर बताउँछन् । दैनिक मारिएका माछा घाम-आगोमा सुकाएको सुकुटी प्रति केजी २५ सयदेखि तीन हजार रुपैंयाँमा विक्री हुने गरेको छ । खुवालुङ मोटर बोट स्टाण्डको पसलमा माछा बेचिरहेकी मनकुमारी राईका अनुसार झण्डै सात केजी ताजा माछा सुकाउँदा एक केजी सुकुटी माछा तयार हुन्छ । पहाडी नदीको माछाको बजार धरान देखी काठमाडौं र विदेशसम्म छ ।

भिरालो पहाडी गाउँ भएकाले खुवालुङ क्षेत्रमा धान फल्ने खेत प्रायः देखिन्न । यहाँको मुख्य खेती बाँसको उत्पादन हो । धनकुट मुलघाटदेखि उदयपुरको बेलका सम्मका नदी किनारका पाखाहरुमा बाँसको खेती गरिन्छ । वर्षेनी हुर्किएको बाँस काट्ने र नयाँ रोपिने भएकाले यहाँको बाँस जंगलमा एकै ठाउँ झुप्पिएको बाँसघारी पाइन्न । काटिएका बाँस नदीमा बगाएर चतरा, चक्रघट्टी लाइन्छ । भयबहादुर भन्छन् ‘बाँसपछि पाखाबारीमा मकै, कोदो, अदुवाको खेती किसानी गछौं ।’

पछिल्लो समय सप्तकोशीमा मोटर बोट चल्न थालेदेखि नदी किनार चहल पहल बढ्न थालेको छ । पुरानो बाटोका गाउँलेहरु मोटर बाटो स्टाण्डमा खानेकुराका दोकानहरु राख्न थालेका छन् । यहाँ सुकुटी माछा पनि विक्री हुन थालेको छ । खुवालुङ चट्टान चर्चामा आएदेखी यो ठाउँ हेर्न आउनेहरुको संख्या बढेको छ । नदि किनार बगरको रमाइलोमा बनभोज खानेहरु दुधकोशी–अरुणको संगमस्थलसम्म पुग्ने गरेका छन् ।

खुवालुङ मोटर बोट स्टाण्डमा छाप्री पसलकी मनकुमारी भन्छिन् ‘हिउँदको बेला भर्खर मात्र देकान राख्न थलेको हो ।’ बर्षामा नदीमा बाढी आएपछि किनार कहाँसम्म पुग्छ अहिले बढेको चहल पहल त्यसले निर्धारण गर्ने उनको भनाई छ । चतरा पुलदेखी चल्ने मोटर बोट ठाउँमा रोकिने स्काभेटरले स्टाण्डहरु बनाएको छ । सजिलो किनारको बगारमा मानिसहरु बोट पर्खिरहेका देखिन्छन् । बिहानदेखि साँझ ५ बजेसम्म १०/१५ जना अटाउने साना बोटले ट्रिप लगाइरहेको देखिन्छ ।

हिउँदमा पनि नदीमा आउने छाल र्‍यापिडमा ठोक्किएर उफार्ने जलमार्गमा पानीको सतह कमी हुँदा मझौला पर्यटकीय जहाज खुवालुङ भन्दा माथि जाँदैनन् । हिउँदमा माथिका केही माग देखिने खुवालुङ चट्टान वर्षाको भेलमा भने देखिदैन । जलमार्गलाई सहज बनाउन चट्टानलाई फुटाएर नष्ट गर्ने सरकारी निर्णय भएपछि खुवालुङ बचाउ आन्दोलन शुरु भएको हो । आन्दोलका स्थलगत अगुवा इन्द्रहाङ खम्बुले भने ‘मुख्यमन्त्री शेरधन राई ज्यु यहीं आएर खुवालुङ नष्ट नहुने बचन दिएका छन्, तर सरकारी निर्णय, प्रकृया फिर्ता नभएकाले आन्दोलन जारी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा ठूला जहाज सहज बनाउन चट्टान फुटाएर जलमार्ग फराकिलो बनाउने बताएपछि खुवालुङ बचाउन बराहक्षेत्र स्थित किरात धर्म संघ नेपालले स्थलगत रुपमा आन्दोलन शुरु गरेको हो । संघले किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात याख्या छुम्मा, किरात सुनुवार समाज लगायत आदिबासी संघहरु सहित खुवालुङ संरक्षण समिति गठन गरी चट्टान फुटाउन आएको स्काभेटर रोकेपछि वराहक्षेत्रका वडाध्यक्ष सहित ४ जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

आन्दोलनकी नेतृ दिला राई भन्छिन् ‘मुख्यमन्त्री ज्यूको वचन हाम्रो आन्दोलनलाई मत्थर गर्न मात्र हो कि खुवालुङको संरक्षण पनि गर्नुहुने हो, हामी खबरदारी गर्न छोड्दैनौं ।’ मुख्यमन्त्री राई खुवालुङमै पुगेर चट्टानलाई जोगाएर जलमार्ग विस्तार गर्ने वचन दिएका थिए । तथापी खुवालुङ नजिक चट्टान फुटाउने योजना, बजेट र त्यसबाट हुने लाभ साथै उपभोक्त समिति वर्णन गरिएको साइन बोर्ड भने हटाइएको छैन् । खम्बुले भने ‘यसबारे समितिमा छलफल हुनेछ ।’ खुवालुङलाई जस्ताको तस्तै राखेर जलमार्गको विस्तार, संरक्षण र विकासका योजना समितिले प्रदेश सरकारलाई बुझाउने उनले बताए ।

किराँत समुदायका खोजकर्ताहरुले खुवालुङमा विकसीत किरात सभ्यतामा राई, लिम्बु, यख्खा, सुनुवार एकै परिवारका दाजुभाई भएको दाबी गरेका छन् । खुवालुङबाट छुट्टिएर चार दिशामा लागेपछि उनीहरु विभिन्न जातिको रुपमा स्थापित भएको तथ्य उनीहरुले अघि सारेका छन् । किराँत संस्कृतिका अध्येता शालिक शतासक राईका अनुसार खुवालुङबाटै ‘राई, लिम्बु, याख्खा, सुनुवार अरुण, तमोर, दुधकोशी, सुनकोशी पछ्याएर गएका थिए भनिन्छ ।’ खुवालुङ किरात सभ्यताको प्रतिक भएकाले अहिले पनि धार्मिक, सांस्कृतिक पूजा अर्चनाका लागि किरात समूदायका जातीहरु जुट्ने गरेको उले उल्लेख गरेका छन् ।

किराँत याक्थुङ चुम्लुङका अगुवा ताज्जुब लिम्बुका अनुसार लिम्बु मन्धुममा उल्लेख भएका चट्टान लुङहरु मध्ये महत्वपूर्ण खुवालुङको उल्लेख छ । संगीतका रागहरुको उत्पतीसंग खुवालुङको गहिरो सम्बन्ध भएको मुन्धुमका पालामनै आउँछ । लिम्बुवानको सिमाना त्रिवेणी भएकोले लिम्बु समुदाय वर्सेनी पूजा अर्चनका लागि खुवालुङस्थल त्रिवेणी आउँछन् । किराँत याख्खा छुम्माका अनुप देवान भन्छन् ‘राई र लिम्बुको इतिहाससंगै याख्खा जातिको पनि इतिहास जोडिएको छ ।’

पछिल्लो समय खुवालुङ बचाउ आन्दोलनमा किरात समुदायका चारै जातिको सकृयता बढेको किरात धर्म संघकी सचिव दिला राई बताउँछिन् । उनले भनिन् ‘यसअघि तल्लो तहमा खुवालुङ राई समुदायको मात्र हो कि भन्ने भ्रम थियो त्यो हटेको छ ।’ सांस्कृतिक महत्वको खुवालुङ क्षेत्रमा पर्यटकिय पूर्वाधारहरु बनेमा यस्को संरक्षण र आर्थिक विकास हुने उनले बताइन् ।

आन्दोलनका कारण कोशीको चट्टानमा सबैको ध्यानाकर्षण भएपछि त्रिवेणीको मिहिन बालुवाको बगरमा पर्यटनको सम्भावना बढाएको छ । शाहसी खेल र्‍याफ्टिङको पनि गन्तव्य भएकाले चतरा-भोजपुरको पुरानो पैदल बाटोमा पर्ने गाउँलेहरुको आर्थिक विकासमा पर्यटनबाट सघाउपुग्न सक्छ । खुवालुङ बगरमा भेटिएका त्रिवेणीका मेघराज राई भन्छन् ‘यो बगरमा सदाभन्दा चहल पहल बढेको छ, झण्डा गाड्नेहरु देखी खुवालुङ हेर्नआउनेहरु बढेका छन् ।’ उनले विभिन्न ठाउँमा गाडिएका झण्डाहरु देखाउँदै भने ‘आठपहरीया समेत अहिले सम्म चार वटा संस्थाले यहाँ झण्डा लगाएर गएका छन् ।’