महरा पुत्रसहित चार जनालाई मुद्दा, सुन तस्करीको अभियोग - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

महरा पुत्रसहित चार जनालाई मुद्दा, सुन तस्करीको अभियोग


काठमाडौं । पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा मुद्धा दायर भएको छ ।

सरकारी वकिल कार्यालयले राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौँ बस्ने दावा छिरिङ र काठमाडौँका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।

उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रतिवादीहरूलाई कसुरको प्रकृति अनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय माग दाबी गरिएको छ । महराले चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको स्वीकार गरेका छन् ।

भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले समातेपछि चीनका पुरानो साथी वाङले आफूलाई अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत श्रेष्ठलाई त्यसबारे बुझ्न फोन गरेको बताएका छन् । तर, सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको उनको दाबी छ ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा राहुलले चिनियाँ साथी वाङको अनुरोधमा विमानस्थलस्थित भन्सार कार्यालयमा रोकिएको भेप निकाल्न मिल्छ कि मिल्दैन बुझिदिनुपर्‍यो भनेर प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेको बताएका छन् ।

के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ । छुटाउन दबाब दिएको होइन र यो प्रकरणमा मेरो अरु संलग्नता छैन,’ उनले बयानमा भनेका छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेट्न उनको कार्यकक्षमा पनि पुगेको महराले बयान दिएका छन् ।