इजरायलबाट उडे २५० नेपाली, शव आउने टुंगो छैन - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

इजरायलबाट उडे २५० नेपाली, शव आउने टुंगो छैन


काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको द्धन्द्धमा परेका नेपालीहरुलाई लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौं उडेको छ । हमास समूहको आक्रमणपछि त्यहाँ रहेका विद्यार्थी लिन इजरायल पुगेको निगमको जहाज २५३ जना नेपाली लिएर काठमाडौंका लागि उडेको हो ।

इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट उडेको विमान विहीबार राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको विमान उद्धारका लागि इजरायल पठाइएको थियो । वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो । जसमध्ये नेपाल आउन चाहेका २५३ जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा विमान इजरायल पठाउने निर्णय गरेको थियो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई उद्धारका लागि विमान जाने र त्यसको भाडा सरकारले तिर्ने निर्णय भएको बताए । इजरायलमा अलपत्र परेका मध्ये २८८ जनाले उद्धारका लागि सरकारसँग अनुरोध गरे पनि प्राथमिकताका आधारमा २५० जनालाई उद्धार गरिने मन्त्रालयले जनाएको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको शव ल्याउन भने केही ढिलाइ हुने भएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पहिलो चरणमा २५० जना नेपालीलाई ल्याइने र पछि आवश्यकताअनुसार थप उडान गर्ने बताइन् ।

प्रवक्ता लम्सालले इजरायलमा रहेका २८८ नेपाली फर्कन चाहे पनि २५० जनालाई मात्र पहिलो चरणमा ल्याउन सकिने प्राविधिक कारण रहेको बताइन् । आउन इच्छुक नेपालीहरुका लागि त्यहाँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने जानकारी उनले दिइन् ।

इजरायलस्थित नेपाली दूतावासले मंगलबार उद्धार गरेका मध्ये इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमाबाट सुरक्षित ठाउँमा सारिएको सहितका नेपालीलाई पहिलो प्राथमिकतामा उद्धार गरिने छ । नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरुको स्वदेश फिर्तीको लागि दूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ ।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि जाने विमानमा त्यहाँ मारिएका १० जना नेपालीको शव ल्याइने छैन । नेपालीको शव हाल इजरायल सरकारसँगै रहेको र पोष्टमार्टम लगायतका अन्य प्रक्रियामा समय लाग्ने भएकोले केही ढिलो हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै नेपाल ल्याउन सकिने जनाएको छ । प्रवक्ता लम्सालले मृतक नेपालीको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शव इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको बताइन् ।

 

"