एनआरएनए युरोप कोष बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा चिन्तामणीः के-के छन् एजेन्डा ? - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एनआरएनए युरोप कोष बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा चिन्तामणीः के-के छन् एजेन्डा ?


काठमाडौं । असोज ३० गतेदेखि काठमाडौमा सुरु हुने गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा युरोप संयोजकका बलिया उम्मेदवार चिन्तामणी सापकोटाले युरोपमा रहेका एनसीसीहरु आइसीसीबाट सँधै हेपिएकाले दुई बर्षको कार्यकालमा बेग्लै युरोप कोष संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

युरोपका विभिन्न देशहरुको भ्रमण सकेर काठमाडौं उत्रिएका उनले युरोपमा रहेका गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र आपत–विपतमा पर्दा सहयोग गर्नका लागि युरोप कोष बनाएर सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

सन् २००७ देखि नै साधारण सदस्यका रुपमा एनआरएनएको अभियानमा जोडिएका चिन्तामणी यतिबेला २०२३–२०२५ का लागि युरोप संयोजक पदमा जित्ने उम्मेदवारका रुपमा दरिएका छन् ।विधि, प्रक्रिया, पारदर्शीता र संस्थागत अनुशासनमा बसेर काम गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गराइछाड्ने उनले बताए ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारा दिएर अध्यक्षको दौडमा रहेका महेशकुमार श्रेष्ठको टीममा रहेका उनले युरोप क्षेत्रमा रहेका नेपाली विज्ञहरु तथा पेशाकर्मीहरुसंग रहेको सीप, पूँजी र अनुभव नेपालको उन्नतिमा परिचालन गर्न आफुले जोड दिने सापकोटाले बताए।

एनआरएनए यात्रा

बाग्लुङमा जन्मिएर अध्ययनका सिलसिलामा जर्मनी पुगेका चिन्तामणीले कालान्तरमा स्पेनलाई कर्मभूमि बनाए । स्पेनमा आफ्नै व्यवसायमा रमाएका उनले नेपाली जनसम्पर्क समितिमा बसेर लामो समय काम गरिसकेका छन् । जनसम्पर्क समिति स्पेनको संस्थापक सभापति हुँदै दुई कार्यकाल नेतृत्व सम्हालेका उनी युरोपका नेपालीहरुको समस्याबारे नजिकबाट जानकार छन् र दुख मर्कामा परेका नेपालीहरु लाई सक्दो सहयोग गर्दै आएका छन्।

एनआरएनएमा उनको भिन्न अनुभव छ । एनआरएन स्पेनको सदस्य हुँदै २०१३–२०१५ कार्यसमिति सदस्य, २०१७–२०१९ अध्यक्ष , २०१९–२०२१ आईसीसी सदस्य र २०२१–२०२३ युरोप क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ । नेतृत्व विवादका कारण १०औं महाधिवेशनपछि पर्याप्त काम गर्ने अवसर नपाएकाले अब नीतिगत र प्रक्रियागत रुपले काम गर्ने सोच उनले राखेका छन् ।

युरोप कोष बनाउने

युरोपमा रहेका एनसीसीहरु आइसीसीबाट सँधै हेपिएको उनको अनुभव छ । लिगलाइज गर्ने, परियोजनाहरु ल्याउने सवालमा केन्द्रले सँधै बेवास्ता गरेका कारण धेरै देशमा संस्था दर्ता भएको छैन । जसका कारण युरोपमा रहेका नेपालीहरुले सुविधा उपयोग गर्न पाएका छैनन् । कानूनी झन्झट व्यहोरिरहेका छन् । एनसीसीहरुमाथि केन्द्रको अनावश्यक हस्तक्षेप हुने गरेको उनले बताए ।

‘अब यसरी हुँदैन । केन्द्रको हस्तक्षेप मान्य हुँदैन,’उनले भावी योजना सुनाउँदै भने,‘युरोप संयोजक निर्वाचित भइसकेपछि एनसीसी दर्ता प्रक्रिया वा लिगलाइज गर्ने मेरो पहिलो काम हुनेछ । स्थानीय सरकारबाट पाउने सुविधाबाट एनआरएनएलाई बन्चित गराउँदिन । नेपालीहरुलाई परेको कानूनी समस्याहरु संस्थागत रुपमा हल गर्ने मेरो संकल्प हो ।’ सबैखाले समस्या समाधानका लागि बेग्लै युरोप कोष संचालन गर्ने पनि उनको योजना छ । कोही पनि नेपालीलाई युरोपका देशहरुबाट प्राप्त गर्ने सेवा सुविधाबाट बन्चित हुन नदिन उनले संस्थागत प्रयास गर्ने योजना सुनाए ।

एनसीसीहरु स्वायत्त हुनुपर्छ

एनआरएनए युरोपमा रहेका २४ देशका डेलिगेट्स साथै एनआरएनएहरुसँग परामर्शपछि संयोजकको प्रत्यासी बनेका चिन्तामणी संस्थामा परिवर्तन र रुपान्तरण ल्याएरै छाड्ने बताउँछन् । ‘सामाजिक हित र संस्थालाई मजबुत बनाउन जस्तोसुकै त्याग गर्न तयार छु,’उनले भने,‘अब संस्थालाई व्यक्तिमुखी हुनबाट बचाउनु छ । विधि र विधान अनुसार चलाउनु छ ।’

रोमानिया, ग्रीस, सर्विया, बेलारुसजस्ता देशहरुमा एनआरएनएको संस्थागत विकास गर्न जरुरी रहेको उनले सुनाए । भिसा र पासपोर्टको समस्या झेलिरहेका नेपालीहरुलाई संस्थागत सहयोग नभइरहेकाले त्यसमा आफू सक्रिय भएर लाग्ने र अनुशासन समिति साथै विभिन्न टास्कफोर्सहरुलाई सक्रिय बनाएर संस्था बलियो बनाउनुपर्ने उनको धारणा छ । युरोपका देशहरुमा नेपालको पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने वातावरण जुटाउन पहल गर्नेलगायतका थुप्रै योजनाहरु रहेको उनले बताए ।

नेतृत्व विकास र हस्तान्तरण

एनआरएनएमा सबैभन्दा ठूलो समस्या भनेको सँधैभरी एउटै पद र उही संस्थामा हालीमुहाली गर्ने परम्परा छ । त्यसैले संस्थामा युवा र महिलाहरुको सक्रियतालाई सम्मान गर्दै नेतृत्वका ल्याउने उनको योजना छ ।

‘महिला र युवाहरुलाई नेतृत्वमा आउन नदिन एनआरएनएका अगुवाहरुले नै हस्तक्षेप गरिरहेका छन् । दमन र हतोत्साहीत गराइरहेका छन् । त्यसैले म मेरो जिम्मेवारी पूरा भएपछि संस्थाको नेतृत्वबाट अलग रहेर नयाँ व्यक्तिलाई अवसर दिन तयार छु । नयाँ अभियन्ताहरुलाई नेतृत्व विकास गर्ने योजनाहरु अघि सार्नेछु,’ उनले योजना सुनाए ।

यसैगरी युरोप क्षेत्रमा अरहेका नेपाली विज्ञहरु तथा पेशाकर्मीहरुसंग रहेको सीप, पूँजी र अनुभव नेपालको उन्नतिमा परिचालन गर्न आफुले जोड दिने सापकोटाले बताए। उनले नेपालमा युरोपबाट लगानी भित्र्याउन, नेपालको पर्यटन प्रवर्धन गर्न र युरोपको बजारमा नेपाली उत्पादनहरुको विक्री वितरण सहज गर्न पनि आफुले काम गर्ने बताए। ‘लामो समयदेखि युरोपको आकाशमा नेपाली वायुसेवा कम्पनीहरुको उडानमा प्रतिबन्ध लगाइएको छ। नेपाल सरकारसंग समन्वय गरी युरोपको आकाशमा नेपाली वायुसेवा कम्पनीहरुको उडान शुरु गर्न मैले सक्दो पहल गर्ने छु,’सापकोटाले भने ।