एनआरएनए महासचिबमा वुद्धि सागर सुवेदीको उम्मेदवारी - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

एनआरएनए महासचिबमा वुद्धि सागर सुवेदीको उम्मेदवारी


काठमाडौं । असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौमा हुन गइरहेको एनआरएनएको ११औं महाधिवेशनमा बुद्धि सागर सुवेदीले महासचिब पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै सोमबार विहान सोल्टी होटलमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर उनले महासचिबमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने, ‘हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं ।’

एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले आफूले गरेको कामहरुको पृष्टभूमि र भावी एनआरएनएका लागि उठाइएका मुद्दाहरुलाई हेरेर डेलिगेट्सहरुले न्याय गर्नुहुने विश्वास पनि व्यक्त गरे । सुवेदीले भने,‘महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहाँसलाई हेर्दा पनि अबको अध्यक्ष श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’

अमेरिकाको अध्यक्ष हुँदा उनले आफ्नो कार्यकालमा संस्थाकै भवन बनाएका उनी एनआरएनए एनसीसीहरुलाई स्वायत्त बनाइनुपर्ने र आइसीसीको बोर्ड बैठकमा आमन्त्रित सदस्यका रुपमा अवसर दिलाइनुपर्ने पक्षमा छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३-२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् । सुवेदीसहित महासचिब पदमा हालका महासचिब गौरीराज जोशीले पनि महासचिबमै उम्मेदवारी दर्ता गराएका छन् ।