शहरमा भित्रियो दशैं, किनमेल गर्नेको भीड - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

शहरमा भित्रियो दशैं, किनमेल गर्नेको भीड


काठमाडौं । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् ।

तर दशैँको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ । व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए । आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दशैँमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाई छ ।

व्यापारीहरुले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपातमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए । उनले आर्थिक मन्दीको कारण मानिसहरुको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताए ।

उहाँले क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताए । पूर्वअध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दशैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आश पलाएको उल्लेख गरे । उनले यो वर्षको दशैँमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताए ।

त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताए ।

व्यापारीहरुले बजारमा व्यापार नभएको भनेपनि गत शनिवारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको किनमेल गर्ने भीडभाड बढेको छ । किनमेल गर्नेहरुको भीडभाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरुमा सवारी साधनको समेत चाप देखिएको छ ।

यता, नेपाल राष्ट्र बैंकले दशैं तथा तिहारलाई लक्षित गरी सोमबारबाट सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ। प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं उपत्यका भित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ।