कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पाउन सहज - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पाउन सहज


विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कार्कीले मुख्यमन्त्रीमा नियुक्त भएको चौथो दिनमै विश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते शनिबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनले असोज २८ गते आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

राजनीतिक समीकरण बदलिएकाले पनि ढुक्कसँग काम गर्नका लागि उनले जतिसक्यो छिटो विश्वासको मत लिन लागेका हुन् । कार्कीसँगै दुई मन्त्रीले शपथ लिएका छन् । एमालेबाट राम राई र कांग्रेसबाट शमशेर राई मन्त्री बनेका छन् । उनीहरुलाई अहिले मन्त्रालय तोकिएको छैन । उनीहरुलाई बिना विभागीय मन्त्री बनाइएको छ ।

केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा.शेखर कोइरालाबीच गठबन्धन नटुक्रयाउने सहमति भए पनि कोशीमा आफूलाई सघाएको एमालेलाई सरकारमा सहभागी गराएका छन् । केन्द्रमा सहमति गरे पनि कार्कीका पक्षमा सनाखत गर्न कांग्रेसकै बाँकी सांसदसमेत नगएकाले त्यो सहमतिको कुनै अर्थ नरहेको स्पष्टै हुन्छ ।

कांग्रेसका प्रतिनिधि सभा सदस्य डा। सुनील शर्माको पहलमा कोशीमा एमालेले कांग्रेसको विद्रोही पक्ष अर्थात् शेखर कोइराला पक्षलाई समर्थन गरेको हो । यो सँगै नेकपा माओवादी केन्द्रले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले विश्वासको मत दिने भएपछि कार्की नेतृत्वको सरकार स्थायी हुने संकेत देखिएको छ ।