सेनाको विषयमा गलत प्रचार नहोस - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

सेनाको विषयमा गलत प्रचार नहोस


काठमाडौं। नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने प्रसंगका बीच उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले स्पष्टीकरण दिएका छन् ।

सोमवार काठमाडौँमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री खड्काले अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताए । उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे ।

उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताए । उनले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए । सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताए । उनले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे ।

त्यस्तै, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । उनले नेपाली सेनामा त्यस्तो गलत कार्य गर्न नहुने भन्दै त्यस किसिमको प्रयासको आलोचना गरेका छन् ।

नेता कोइरालाले आज २०८० असोज २८ गते बिहान सामाजिक सञ्जालमा एक्समा सेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन्। नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको संस्था भएकाले यसलाई सधैँ राजनीतिबाट अलग राख्नुपर्ने कोइरालाको धारणा छ ।

कोइरालाले लेखेका छन, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”