एनआरएनएमा १८ बर्ष विताएका केपी सिटौला सचिब पदमा बलियो उपस्थिति - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एनआरएनएमा १८ बर्ष विताएका केपी सिटौला सचिब पदमा बलियो उपस्थिति


काठमाडौं । कोरियामा बसेर गैर आवासीय नेपालीहरुको मुद्दामा लामो समयदेखि क्रियाशील केपी सिटौलाले एनआरएनएको आसन्न ११औं महाधिवेशनमा सचिब पदमा उम्मेदवारी दिएका छन् । दक्षिण कोरियामा रहेर व्यवसाय गर्दै आएका सिटौला विदेशमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन पनि सक्रिय छन् ।

‘गुम्दै गरेको एनआरएनएको शाखलाई जोगाऔं, गर्व गर्न लायक प्रवासी नेपालीहरुको साझा संस्था बनाऔं’ भन्ने मूला नारासहित उनले सचिब पदमा उम्मेदवारी दर्ता गराएर चुनावी अभियानलाई तिब्रता दिएका छन् । उनी अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठको टिमबाट सचिबमा बलिया उम्मेदवार मानिन्छन् ।

उनी एनआरएनए एनसीसी कोरियाका संस्थापक अध्यक्ष (२००६–२००७)साथै एनआरएनए एनसीसी कोरियाका अध्यक्ष (२०११–२०१३) हुन् । त्यसैगरी उनी एनआरएनए आइसीसी सदस्य (२०१३–२०१५ र २०१५–२०१७) हुन् । त्यसैगरी सन् २००२ देखि निरन्तर रुपमा नेपाल पर्यटन बोर्ड कोरियाको मानार्थ दूतका रुपमा सक्रिय छन् ।

१८ बर्ष एनआरएनए अभियानमा विताएका सिटौला सामाजिक काममा पनि सक्रिय छन् । उनले कोरियामा दुःख पाएका दर्जनौं नेपाली र नेपालमा विपत पर्दा सहयोग जुटाउँदै आएका छन् । मंगलबारदेखि काठमाडौंको होटल सोल्टीमा शुरु भएको एनआरएनएको महाधिवेशनमा विहीबार मतदान हुँदैछ ।