एनआरएनएमा त्रिपक्षीय भिडन्त, महेशलाई सहज - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

एनआरएनएमा त्रिपक्षीय भिडन्त, महेशलाई सहज


काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि मात्र एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी छन् ।

संघलाई एकताबद्ध गर्दै यस अघि पुरा हुन बांकी एजेन्डाहरु पुरा गर्ने उद्देश्य सहित पुनः२०२३–२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको उल्लेख गर्दै उनले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिना भित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी ल्याएकोले साथ समर्थन रहेको बताएकी छन् ।

थापाको समर्थन श्रेष्ठले पाएपछि शुभेच्छुकहरु उत्साहित देखिएका छन् । शुभेच्छुक एवम डेलिगेट्सहरुले होटल सोल्टी परिसरमा थापा र श्रेष्ठलाई साथमै राखेर तस्विर खिचाउन साथै बधाई साटासाट गरेर खुशीयाली मनाएका छन् ।

बुधबार बेलुकी थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संघमा मैले उठाउंदै आएको युवा तथा महिलालाई संघभित्र अग्रस्थान दिने कार्य योजनालाइ अध्यक्ष पदका उम्मेदवार महेशजीले प्राथमिकताका साथ अगाडी बढाउने वचन दिनुभएको छ। उहाँ र उहाँले नेतृत्व गर्नु भएको टिमले स्थापनाको २० वर्ष पुरा गरेको संघलाई आगामी दशकका लागि स्पष्ट कार्ययोजना सहित अगाडी बढाउने मैले विश्वास लिएकी छु ।’

थापाले श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गरेको जानकारी गराउँदै अध्यक्षमा श्रेष्ठलाई मतदान गरी विजयी गराउन आग्रह समेत गरेकी छन् । अध्यक्षमा अब श्रेष्ठ, डा.बद्री केसी र राजेन्द्रकुमार श्रेष्ठ(आरके)बीच त्रिपक्षीय भिडन्त हुनेछ ।

सबै महादेशमा राम्रो पकड जमाएका श्रेष्ठ २०२३–२५ का लागि नयाँ अध्यक्ष बन्ने आंकलन गरिएको छ । १०औं महाधिवेशनबाट विभाजित बनेको एनआरएनएको भावी नेतृत्वका लागि नयाँ अनुहार स्थापित गराउन पूर्वअध्यक्षहरु साथै संस्थापकहरुले आन्तरिक लबिङ गरिरहेका छन् । विश्वभरका डेलिगेट्सहरुले पनि संस्थालाई एकताबद्ध गराउन सक्ने नेतृत्वको खोजीमा रहेकाले श्रेष्ठको पक्षमा माहोल देखिएको छ ।

डा.केसी एक पटक परीक्षण भइसकेकाले शर्मा र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठले असन्तुष्ट पक्षका नेताहरुलाई भेटेर तीन महिनाभित्र संघलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएकाले पछिल्ला दिनमा उनीप्रति समर्थन जनाउनेहरुको संख्या बढेको छ । मुख्यतः टिम महेशमा एनआरएनएको अभियानमा प्रभाव जमाउन सक्ने व्यक्तिहरु पदाधिकारीमा उम्मेदवार रहेकाले श्रेष्ठलाई बल मिलेको छ ।

निर्वाचन समितिका अनुसार नेपाली समय बुधबार १२ बजेबाट अनलाइन भोटिङ गर्न सकिने छ र यो प्रकृया २४ घण्टासम्म चलिरहने छ। भौतिक रुपममा भने विहीबार विहान १० बजे देखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।

महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । ८७ देशमा संगठित एनआरएनएमा ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।