विजयादशमीको टीका: ११ः ०२ बजे उत्तम साइत - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

विजयादशमीको टीका: ११ः ०२ बजे उत्तम साइत


काठमाडौं । यस वर्षको विजयादशमीको टीका कात्तिक ७ गते मङ्गलवार परेको छ । घटस्थापनामा विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः ०२ बजेको साइत उत्तम रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा र टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।