शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द, भीडभाड हुने कार्यक्रम गर्न बन्देज - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द, भीडभाड हुने कार्यक्रम गर्न बन्देज


काठमाडौं । सरकारले कोभिड–१९ संक्रमणको अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्र र भारतीय सिमा जोडिएका शहरका शैक्षिक सस्था, विद्यालय, कलेज लगायतमा हुने भौतिक उपस्थिति सहितको पठन पाठनमा रोक लगाएको हो ।

संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको संभावना उच्च रहेका क्षेत्र घोषणा गरी ती क्षेत्रका लागि विशेष व्यवस्था सहितको मापदण्ड जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय बारे जानकारी दिन सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवंम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ संक्रमण रोकथाम, पहिचान तथा उपचारका लागि सरकारले जारी गरेको आदेशबारे जानकारी गराएका हुन् ।

मन्त्री गुरुङका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाहरु, विराटनगर, विरगञ्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, विरेन्द्रनगर तथा भिमदत्तनगर नगरपालिका भित्रका शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।

विद्यालय र कलेजका पुर्वनिधारित परीक्षा, चिकित्सा शिक्षालगायतका सबै परीक्षाहरु जनस्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाईने भएको छ । सिनेमाहल, पार्टी प्यालेस, दोहोरी, नाचघर, हेल्थ क्लब, जीमखाना, स्वीमिङ पुल, फुटसल, आमसभा, जुलुश वा हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेदकुद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ ।

यस्तै, मठमन्दिर, गुम्बा, मस्जित जस्ता धार्मिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बैशाख मसान्तसम्म नित्य पुजा, ध्यान, प्रार्थना गर्ने गराउने व्यवस्था मिलाउन भनिएको छ ।