धुमधाम मनाइँदै वडादशैं - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

धुमधाम मनाइँदै वडादशैं


काठमाडौं । विजयादशमीको मुख्य दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरिदैछ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले मंगलबार बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । यता, राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरे ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका छन् ।

विजया दशमीका अवसरमा राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गरेका छन् ।

उता, पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइ दिँदै राजनीतिबारे संकेत गरेका छन् । मङ्गलवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाई लगाइदिएका हुन् । पूर्वराजाले टीका लगाइदिँदै राजनीतिबारे संकेत गर्दै देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।