कहाँ जान्छ नेपाल भित्रिएको करोडौं रुपैंयाँको तास ? - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

कहाँ जान्छ नेपाल भित्रिएको करोडौं रुपैंयाँको तास ?


काठमाडौं । नेपालमा तास खेल्नेहरुको संख्या कति छ भनेर बुझ्ने हो भने भन्सार विभागको तथ्यांकलाई हेरे पुग्छ । किनकी तासबाट नै हाम्रो वार्षिक रुपमा करोडौं रुपैयाँ विदेश गइरहेको छ।

नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ । भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालमा कोही रमाइलोका लागि तास खेल्छन् भने कोही बानीको रुपमा आफ्नो जीवनभरको कमाइ दाउमा लगाइरहका हुन्छन्। केही व्यक्तिहरुले आफ्नो सर्वस्व नै गुमाएको पाइन्छ । नेपालले चीन, भारत, मलेसिया, ताइवान, बेलायत र अमेरिकालगायत मुलुकबाट तास आयात गर्छ। नेपालमा तास सबैभन्दा धेरै चीनबाट आयात हुन्छ।

नेपालमा वार्षिक १ करोड प्याकेट भन्दा धेरै तास आयात हुने गरेको देखिएको छ । विभागको तथ्याङ्क अनुसार विगत सात वर्षमा ८ करोड ७१ लाख प्याकेट तास आयात भएको छ। विगत ७ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा १ करोड २४ लाख प्याकेट तास आयात हुने गरेको छ।

खासगरी नेपालमा चाडपर्वको बेलामा तासको प्याकेटको माग उच्च हुने गरेको छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ ।

सबै तास सर्वसाधारणले मात्रै खेलेका भने होइनन्। मुख्य गरी नेपालमा सञ्चालित क्यासिनोहरुले भारी मात्रामा तास आयात गर्ने भएकोले पनि तासको आयात उच्च देखिन्छ। हाल नेपालमा २३ वटा क्यासिनो दर्ता भइ सञ्चालनमा रहेका छन्। धेरैजसो पाँचतारे होटलले अहिले क्यासिनो सञ्चालन गरिरहेका छन्। पछिल्लो समय खुलेका केही होटलहरुले पनि क्यासिनो खोल्ने तयारी गरिरहेका छन्। यसले गर्दा तासको माग अझै बढ्ने देखिन्छ।