नयाँ भूकम्पले जाजरकोट र रुकुम पश्चिम क्षत-विक्षत - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

नयाँ भूकम्पले जाजरकोट र रुकुम पश्चिम क्षत-विक्षत


काठमाडौँ । जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे गएको भूकम्प नयाँ भूकम्प रहेको भूकम्पविद् मुकुन्द भट्टराईले जनाएका छन् । उनले यो भूकम्प २०७२ सालमा गएको गोरखा भूकम्पको पराकम्पन नभइ नयाँ भूकम्प गएको बताए । उनका अनुसार अहिलेसम्म चार वटा ४ रेक्टर स्केलदेखि माथिका पराकम्पन आइसकेको र ४ रेक्टर स्केलभन्दा मुनिका पराकम्पन निरन्तर आइरहेको बताए ।

राति १२ः०८ बजे ४.५ रेक्टर स्केलको, १२ः२९ बजे ४।२ रेक्टर स्केलको, राति १२ः३५ बजे ४.३ रेक्टर स्केलको र बिहान ४ः१६ मा ४‍‍.६ रेक्टर स्केलको पराकम्पन आएको हो । ठूलो भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनका कारण झन् बढी क्षति भएको हो । अहिले पनि ठूलो पराकम्पन आउन सक्ने भन्दै डा.भट्टराईले संयमित भएर सुरक्षित रहेर बस्नका लागि आग्रह गरेका छन् ।

भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

यता, नेपाली सेनाले जाजरकोट भूकम्पका घाइतेहरुको उद्धार र पीडितलाई राहतका लागि चार ओटा हेलिकोप्टरको प्रयोग भएको जनाएको छ । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज बिहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए।

भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।