भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय


काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

उता, कर्णाली प्रदेश सरकारले आइतबार भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जानकारी दिए । शुक्रवार राती गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमा एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सय बढी घाइते भएका छन् ।