झन्डीडाँडा एक भर्जिन गन्तब्य - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

झन्डीडाँडा एक भर्जिन गन्तब्य


काठमाडौं । असोज कार्तिक महिना सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त समय हो । इलामका हरेकजसो अग्ला डाँडाले सूर्योदयको पहिलो झुल्को चुम्छन् । पश्चिम बंगालको खाडीबाट झुल्कने सूर्यको पहिलो किरण पूर्वी इलामका डाँडामा ठोक्किएपछि देशभर फैलिन्छ । यतिबेला इलामको अन्तुडाँडामा मात्र होइन रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडाबाट पनि सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त स्थानका रुपमा पहिचान गरिएपछि यहाँ पर्यटकहरुको उपस्थिति बाक्लिएको छ ।

सूर्यको पहिलो झुल्को नियाल्न र साहसीक खेल पारखीहरुका लागि भर्जिन गन्तब्यका रुपमा यस स्थानले परिचय पाउन थालेको छ । झापास्थित नेपाल–भारत सीमानाबाट शुरु भएको करसोङ पदमार्ग हुँदै र मेची राजमार्ग हुँदै पनि झन्डीडाँडामा पर्यटकहरु पुग्ने गरेका छन् । साइकल यात्रीहरुका करसोङ पदमार्गमार्फत झन्डीडाँडा पुग्छन् ।

१ हजार ३ सय ९६ मिटर उचाइमा रहेको यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ ।

झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर र मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको यो स्थान तराई र पहाड दुवै तर्फबाट पायक पर्ने गन्तब्यका रुपमा झन्डीडाँडाले पख्याती कमाउन थालेको छ । झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।

"