शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस - रुपान्तरण
 २०८१ श्रावण ९, बुधबार    

शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस


काठमाडौँ । कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन् ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए ।उनले काँग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका थिए ।

उनले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेका थिए । विद्यालयमा नेविसंघको अध्यक्ष हुदै सुरु भएको उनको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय किर्तिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकि संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन । युरोपेली मुलुक मध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थीत नेपालीले तत्काल दूतावास स्थापना गर्दा दवाव दिदै आएका थिए । मन्त्रीपरिषद्को यो निर्णयले पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । पोर्चुगलमा ६० हजार भन्दा बढी नेपाली रहेको बताइएको छ ।