उद्धार, राहत र उपचारमा रातदिन सक्रिय पूर्णबहादुर - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

उद्धार, राहत र उपचारमा रातदिन सक्रिय पूर्णबहादुर


काठमाडौं । आजीवन निष्ठा र कर्मको राजनीति गरेर सक्रिय जीवन विताएका पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईका अनुयायी हुन पूर्णबहादुर खड्का । आफ्ना देशका जनतालाई शिरमा राखेर निस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावअनुरुप किसुनजीले जुन बाटो लिएका थिए पूर्णबहादुरका पछिल्ला दिनहरु सोही अनुसार दौडिरहेका छन् । भुकम्पले क्षतविक्षत भएको जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितलाई शान्तवना दिन मात्र होइन राहत वितरणमै देखिएको उनको सक्रियता किसुनजीको लयमा हिडेको भान हुन्छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेक उनी विहीबार पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन् । भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत करिव एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गर्ने तयारी छ ।

खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित छन् । उनले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरिसकेका छन् ।

उनी हाल भूकम्पप्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिएका छन् । कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गई ठूलो मात्रामा जनधन क्षति भएपछि उद्धार तथा राहतमा खड्काले सरकारको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

‘भूकम्प गएपश्चात् जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्काले काठमाडौंको बसाइलाई कम गर्दै प्रभावित स्थलमा पुगिरहेका छन् । भूकम्पमा ज्यान गुमाएकी जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई श्रद्धाञ्जली दिन त्रिवेणी नदी घाटमै पुगेका उनले जाजरकोटको वास्तविकताबारे राष्ट्रपति रामचन्द्र पौडेललाई प्रभावित क्षेत्रको भ्रमण गराएर जानकारी समेत गराएका थिए ।

महत्वपूर्ण बैठकमा मात्र काठमाडौं आउने गरेका खड्काले भुकम्प आएको राति देखिनै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल परिचालन गरि उद्धारकार्य खटाउन निर्देशन दिने साथै घाइते तथा पीडित परिवारहरुलाई भेटेर सहयोग जुटाउने काममा भूमिका निर्वाह गरिरहेका छन् । पीडितलाई राहत लिएर पुगेका संघ संस्थाका प्रतिनिधिहरुसँग भेटघाट गर्नेदेखि थप सहयोग जुटाउन आब्हान गर्ने काममा उनको सक्रिय भूमिका देखिन्छ ।

केही दिन अघि भूकम्प पीडितले राहत नपाएको गुनासो आएपछि खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका पुगेका थिए । राहत वितरणपछि पुनःस्थापनाको काम शुरू नहुँदासम्म उनी प्रभावित स्थलमै रहने बताएका छन् । उनले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्प पीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवादसमेत दिएका छन् ।

‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफैँ पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहत वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ’ उपप्रधानमन्त्री खड्काले भने । उनले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुलाई भेटेर सामूहिक र मानवीय भावनाले काम गर्न पनि निर्देशन दिने गरेका छन् । पूर्ण बहादुर खड्काको सक्रियताको प्रशंसा गर्दै कांग्रेस नेता लक्ष्मण आचार्य फेसबुकमा लेख्छन्,‘कृष्ण प्रसाद भट्टराईको चेलो यस्तो हुन्छ भनेर प्रमाणित गर्नुभो पूर्ण दाई नेपाली कांग्रेसको शिर झुकेन उचो भो रक्षामन्त्री भुकम्प पीडितको उद्धार सहयोग र उपचारको लागि रातदिन ।’