काठमाडौंमा चिसो बढ्यो, हिमाली जिल्लाहरूमा हिमपात - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

काठमाडौंमा चिसो बढ्यो, हिमाली जिल्लाहरूमा हिमपात


काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । देशका विभिन्न स्थानमा भने हिमपात समेत भएको छ ।

सोबबार बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढी रहेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ  काठमाडौँसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।

उता, हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।

हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरूमा यो वर्ष कै शुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनी सोमबार बिहानै देखि उच्च भूभागमा हिउँ र बेसीमा पानी पर्न शुरु गरेको हो ।

नेपाल कै प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानै देखि हिउँ पर्न शुरु भएको र चिसो असाध्यै बढेको छ । रारा घुम्न आएका पर्यटनहरू हिमपात र पानीले हवाई र स्थल मार्ग बन्द हुन सक्ने भन्दै बिहानै राराबाट घर तर्फ जान तरखर गरेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर हिमाली खत्रीले बताए ।

त्यस्तै, मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

"