नेपालीलाई रुस पठाउने गिरोहका १२ जनाको नाम सार्वजनिक - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

नेपालीलाई रुस पठाउने गिरोहका १२ जनाको नाम सार्वजनिक


काठमाडौं । रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

गिरोहमा सङ्लग्न दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले सैनिक लगायत अन्य विभिन्न पेसामा जाने भनी विभिन्न एजेन्ट, फर्म, राहदानी र व्यक्तिगत विवरण पठाएका पीडित सम्पर्कमा आएको बताए ।

रसिया जाने क्रममा ६ जनाको मृत्यु भएको घटनापछि काठमाडौं मात्र नभइ अन्यत्र जिल्लामा ठगी तथा मानव तस्करी हुन सक्छ भनी सरकार गम्भीररुपमा रहेका अवस्थामा विभिन्न माध्यमबाट प्राप्त गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

उनीहरूले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट राम्रो आम्दानीको प्रलोभन देखाएर रुस पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पूर्व सुरक्षाकर्मीसमेत रहेका हरि एक्लैले हालसम्म १८ जनालाई रुस पठाएको पाइएको एसएसपी खत्रीले बताए। उनीमार्फत् थप ११ जना रुस जाने क्रममा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितहरूले ७ देखि १२ लाख रुपैयाँ तिरेर रुस जाने गरेको प्रहरीको भनाइ छ।

रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई गएको र त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूपमात्र भएको बताए।