बालेन हिंडेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

बालेन हिंडेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित


काठमाडौं । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आफ्ना कुरा राखेर बाहिरिएपछि प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना कुरा राखेर अतिथिको जवाफ सुन्दै नसुनी हिँडेको भन्दै बालेनको उक्त शैलीलाई लिएर आपत्ति जनाएका हुन् । ‘अघि बालेन्द्रजी गइहाल्नु भयो। पहिला बोलेर हिड्नेसँग पनि मलाई अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जे भन्नुछ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म,’– प्रधानमन्त्री प्रचण्डले भने ।

बालेनले गर्न चाहेको सबै काममा आफ्नो सहयोग र समर्थन रहँदा पनि बालेनले उक्त सहयोगलाई स्वीकार गर्न नचाहेको उनको भनाइ छ। आफूले काठमाडौंको फोहार व्यवस्थापन, तीनकुनेको समस्या समाधान, र बागमतीका बारेमा सिंहदरबारमा धेरै मिटिङहरु गरेर निकास खोज्न पहल गरेको कुरालाई बालेनले स्वीकार गर्न नचाहेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले फोहोर व्यवस्थापन लगायतका विषयबारे संघीय सरकारलाई प्रश्न सोधेका थिए । उनले उपत्यकाको विकास एकै पटक हुनुपर्ने पनि बताए ।

प्रमुख साहले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने धारणा राखे । उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताए ।

साहले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।