१२ हजार ४१५ विद्यार्थी दीक्षित गर्दै त्रिविले राख्यो नयाँ रेकर्ड - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

१२ हजार ४१५ विद्यार्थी दीक्षित गर्दै त्रिविले राख्यो नयाँ रेकर्ड


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले यस वर्ष एकै पटकमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने नयाँ रेकर्ड पनि राखेको छ । दिक्षित हुनेहरुमा स्नातकतर्फ ८ हजार ९८ जना, स्नातकोत्तरतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ र विद्यावारिधितर्फ १ सय १२ जना दीक्षित भएका हुन् । त्रिविले सोमबार एकै पटक दिक्षित गरेको विद्यार्थी संख्या नयाँ रेकर्ड समेत हो । तर गाउनमा सजिएर अभिवाकसँग समारोह स्थलमा पुगेका अधिकांश विद्यार्थीको योजना भने पढ्न होस् वा रोजगारीका लागि विदेश जाने नै रहेको पाइएको छ ।

दिक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताए । उनले भने, ‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईहामीहरूले नै गर्नुपरेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबन्डाको अन्त्य गर्नेसमेत प्रतिबद्धता जनाए । उनले नेपालमा आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालले वि।सं। २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार ३०० विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

 

"