सरकारको कार्यशैली बदलिने प्रचण्डको घोषणा - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

सरकारको कार्यशैली बदलिने प्रचण्डको घोषणा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्रगति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा मंगलबार ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । सो क्रममा उनले सरकारको कार्यशैली बदलिने घोषणा पनि गरे ।

‘वर्तमान संयुक्त सरकार राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको संयुक्त सरकारको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद सरकारले एक वर्षको छोटो अवधिमै पनि आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्यहरू प्रारम्भ गरेको सरकारको दाबी छ ।

यस्तै, सुरु गरिएका कार्यहरू र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको सरकारको विश्वास छ ।

यद्यपि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न तथा देशलाई मध्यम आयस्तरको विकासोन्मुख मुलुकको रूपमा रूपान्तरण गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो रहेको सरकारको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा गरेका काम र आगामी वर्ष गर्ने कामबारे केही प्रतिबद्धता जनाएका छन् । तेस्रो कार्यकालको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले शिक्षा, स्वास्थ्य, केही महत्त्वपूर्ण पूर्वाधार, व्यापार निर्यात र महत्त्वपूर्ण आयोजनाहरुबारे प्रतिबद्धता जनाएका हुन् ।

त्यस क्रममा उनले भने,‘केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिंदै उहाँले सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ पनि स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु, सिङ्गो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’