खरिदको म्याद सकिंदा पनि अस्पतालमा आएन ‘अक्सिजन प्लान्ट’ - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

खरिदको म्याद सकिंदा पनि अस्पतालमा आएन ‘अक्सिजन प्लान्ट’


रुकुम पश्चिम । स्वास्थ्य सामाग्री खरिदमा ठेकेदारले गरेको लापरबाहिको कारण रुकुम पश्चिममा अक्सिन प्लान्ट पुगेको छैन । जसको कारण गम्भिर प्रकृतिका बिरामीहरुले उक्त सेवाको अवसरबाट बञ्चित भएका छन् ।

उच्च प्रकृतिका बिरामी र कोरोना भाईरस संक्रमणको लक्षण सहितका बिरामीको उपचारमा अत्यावश्यक मानिने अक्सिजनको डोज दिन अक्सिजन प्लान्ट जरुरी छ । तर, ठेक्का पाएको ठेकेदार कम्पनिको लापरबाहिले जिल्ला अस्पतालमा उक्त सामाग्री आएको छैन ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख बिष्णु बुढाथोकीले ठेकेदारले सामाग्री सुर्खेत पुगेको, अब आउँछ–आउँछ भन्दै अड्काईरहेको बताए । उक्त प्लान्ट भएमा अकालमै ज्यान जान सक्ने बिरामीहरु बचाउन सकिने उनले जनाए ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आह्वान गरेको अक्सिजन प्लान्ट खरिदको ठेक्का बिभूति ईन्टरनेशनल काठमाडौले पाएको थियो । गत चैत ६ गते सम्म खरिद गरिसक्नुपर्ने उक्त समाग्री अहिलेसम्म अस्पतालमा आएको छैन ।

४० लाख रकममा भएको ठेक्का सम्झौता ठेकेदार कम्पनि र माथिल्लो निकायको हिमचिमको कारण खरिदमा ढिलाई भएको बताईन्छ । सामान खरिदको लागि भएको सम्झौता अन्तिम पटक तीन महिनाको लागि थप भएको थियो । चैत ६ गते अन्तिम म्याद रहेको उक्त ठेक्का बारे प्रदेश सरकार, स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालय समेतले वेवास्ता गरेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त मेसिन प्लान्ट व्यबस्थापन भएमा सामान्य बिरामीको लागि चाहिने अक्सिजन सिलिण्डर समेत जिल्लामै तयार गर्न सकिने डा.राजकुमार भुजेलले बताए । अस्पतालमा सामान्य प्रकृतिका बिरामीलाई चाहिने अक्सिजन सिलिण्डर मात्र छन्, जसले प्रति मिनेट ५ लिटर अक्सिजन बिरामीलाई दिन सकिन्छ ।

तर, कोरोना संक्रमित तथा उच्च डोज अक्सिजन दिनुपर्ने बिरामीको लागि अक्जिन प्लान्ट जरुरी पर्ने डा.भुजेलले बताए । उनले उक्त व्यबस्थाबाट हाई फ्लोको दरले अक्सिजन दिन सकिने बताए ।

हिजो सोमबार कोरोना संक्रमणको कारण अस्पतालमा ज्यान गएकि एक महिलालाई अक्सिजन प्लान्टको व्यवस्था भएको भए केहि समय होल्डमा राखेर बचाउन सकिने र रिफर गरेको स्थानमा पुर्‍याउन सकिने चिकित्सकले बताएका छन् ।

ठेकेदार कम्पनिको लापरबाहि र जनताको स्वास्थ्यमा परेको प्रभावबारे जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले तत्कालै सम्बन्धित निकायमा कुरा गर्ने बताए । सार्वजनिक खरिद ऐनमा भएका गम्भीर त्रुटी र ठेकेदारहरुको बेईमानीको असर जनताले खेप्न बाध्य भएको यो एउटा उदाहरण भएको समेत प्रमुख शर्माले जनाए । यस बिषयमा अस्पतालसँग समेत बुझेर तत्काल समन्वय गर्ने प्रमुख शर्माले उल्लेख गरेका छन् ।