राष्ट्रिय सभा सिटका लागि रस्साकस्सीः मौकामा चौका हान्ने दाउमा ओली - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

राष्ट्रिय सभा सिटका लागि रस्साकस्सीः मौकामा चौका हान्ने दाउमा ओली


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट सङ्ख्या बाँडफाँटका विषयमा रस्साकस्सी चलिरहेको छ । सोही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बोलाएको बैठक निष्कर्षविहीन भएपछि बाँडफाँटको विषय पेचिलो बन्दै गएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरू जिरो नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र त्यसमा एमालेसँग ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले पुनः बैठक बस्ने सहमति भएको बताए ।

उपाध्यक्ष पाण्डेले भने, राष्ट्रिय सभा निर्वाचनका लागि २३ गते उम्मेदवारी दिने स्थिति छ । र, २० सिट खाली भएको छ । र त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरू रहेको नौ सिट छ । अरू पार्टीले प्राप्त गरेका सिटहरू त विभिन्न ढङ्गले आफ्नो आफ्नो जे हो, त्यो कायमै हो भन्दा पनि हुने भो । तर यो नौ सिटको बारेमा हामी कसरी जान्छौंं भन्ने बारेमा सरसल्लाह भयो । सरसल्लाह टुङ्गिएको छैन । एमालेलाई पनि सो निर्वाचनमा सहभागी गराएर लैजाने कि भन्ने बारेमा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई जिरो नगर्नुस् भने भन्ने खालको कुरा आयो । एमालेको ठोस प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो ।’

एमाले ओली आफैँले ४–५ सिट मागेको चर्चा पनि बाहिर आएको छ । ओली आफैँले प्रचण्डलाई भेटेर ४ देखि ५ सिट मागेको उच्च स्रोतले बताएको छ । त्योसँगै प्रचण्डले अधिकतम लचिलो भएर एमालेलाई ४ नभए पनि ३ सिटसम्म दिने वचन दिएको प्रचण्ड निकट उच्च स्रोतले बताएको छ ।

यदि सत्ताधारी गठबन्धन एक हुने हो भने एमालेले राष्ट्रिय सभामा एक सिट पनि जित्ने अवस्था छैन । एमालेका एक सांसदका अनुसार एमालेले अहिले कसलाई उम्मेदवार भन्नेबारेसमेत चासो राखेको छैन ।

यसको कारण हो यदि कांग्रेस र माओवादीसँग सहमति गर्न सकिएन भने एमालेले जित्ने सम्भावना नै छैन । त्यसैले पनि पहिलो चरणमा दलहरुसँग सहकार्यको प्रयास गर्ने र अन्तिम चरणमा मात्रै नामहरु फाइनल गर्ने योजना एमालेको छ ।

ओली पनि मौकामा चौका हान्ने दाउमा ५ सिट मागेका छन् । त्यसो गरे ३ सिट त कसो नपाइएला भन्ने योजनामा उनी भएको बुझ्न सकिन्छ । राष्ट्रिय सभामा मिलेरै अगाडि बढ्नु पर्छ भनेर अहिले तहगत रुपमा नेताहरु गोप्य वार्तामा छन् ।

वार्तामा नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरु बढी सक्रिय देखिएका छन् । तहगत रुपमा वार्ता भइसकेपछि अन्तिम निर्णय गर्ने अधिकार फेरि पनि प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीलाई दिएको बताइन्छ ।

कांग्रेसका एक नेताका अनुसार राष्ट्रिय सभा सम्मानित पद भएकाले यसमा मिलेर नै बौद्धिक रुपले जाँदा हुन्छ भन्ने भएपछि सहकार्यका लागि जोडबल भइरहेको हो ।यद्यपि यसअघि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको छलफलमा भने देउवाले गठबन्धन तोडेर सहकार्य गर्न नसकिने जनाएका थिए ।

ओलीसँगको वार्तापछि भने प्रचण्डले आफूले गठबन्धनको छलफलमा यो प्रस्ताव लगेर सहमति गराउने आश्वासन दिएका छन् । सत्ताधारीबीचको गठबन्धन हुँदा कांग्रेसलाई ७, माओवादीलाई ६ र बाँकी अन्य दलहरुलाई बाँड्ने योजना रहेको थियो ।

यद्यपि यो सिट पनि निश्चित भइसकेको थिएन । यसबीचमा थपिएको छ एमाले । यदि एमालेसँग सहकार्य हुने भयो भने कांग्रेस र माओवादीले २–२ सिट छाडेर कुरा मिलाउनेमा प्रचण्ड देखिएका छन् । कांग्रेसले दुई सिट नछाड्ने हो भने एक सिट कांग्रेसलाई सहमति गराएर माओवादीले २ सिट छाडेर एमालेलाई ३ दिने गरी प्रचण्डले योजना बनाएकोसमेत उनी निकटको उच्च स्रोत बताउँछ ।

यद्यपि कांग्रेसले भने ९ सिट मागेकोसमेत बताइन्छ । तर सत्ता गठबन्धनका दलहरु धेरै भएकाले सकभर एक एक सिट दिएर भए पनि मिलाउने योजना बुनेको बताइन्छ ।