पृथ्वीनारायणसँगै बिसे नगर्चीको स्मरण - रुपान्तरण
 २०८१ असार २, शनिबार    

पृथ्वीनारायणसँगै बिसे नगर्चीको स्मरण


काठमाडौं । शुक्रबार ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देश एवम विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ ।

जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट आएका बिसेका सन्ततिले पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर स्मरण गरे । इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथी हुन् ।

त्यस्तै, विभिन्न राजनीतिक दलका नेताहरुले पनि यो दिवसलाई भब्य रुपमा मनाएका छन् । जयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्यो । चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भए । त्यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस्तै, सिंहदरबार पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । सिंहदरबार मूल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्प गुच्छा अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

पृथ्व्वी जयन्तीका दिन यसपाली विशेषगरी बिसे नगर्चीको चर्चा भएको छ । गोरखाको माझकोट नजिकै बस्दै आएका बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेको इतिहासमा पाइन्छ । त्यस समय नेपाल एकीकरणका लागि हातहतियार किन्न रकम अभाव भएको अवस्थामा नगर्चीले नै गोरखा राज्यका घरधुरीबाट प्रतिघरधुरी एक रुपैयाँ कर उठाउन सुझाउँदै आफैँले एक रुपैयाँ झिकेर राजालाई दिइ यसको सुरुआतसमेत गराएका थिए भन्ने इतिहास पाइन्छ ।

यसरी सङ्कलन गरिएको सो रकमबाट शाहले वनारसबाट हातहतियार किनेर ल्याएको र थप सैन्य भर्ती गरी उनीहरुका लागि हतियार किनेको इतिहासविद्को भनाइ छ । त्यसैगरी युद्धका समयमा सैनिक कपडा सिलाइदिने र विजयपछि बजाउने बाजा बनाउन र बजाउन पनि नगर्ची परिवारको योगदान रहेको थियो ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आयोजित कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपालले तथ्यहरुका आधारमा भन्दा पनि अफवाहमा विश्वास गरी इतिहासको व्याख्या हुने गरेको भन्दै राष्ट्रनिर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताए । उनले भने, “पृथ्वीनारायणको योगदान नहुँदो हो त नेपाल आज स्वतन्त्र र सर्वभौम मुलुक नहरन पनि सक्थ्यो । जसले यो राष्ट्र बनाए र बचाए आज उनैलाई राज्यले सम्मान नगर्नु दुःखद् हो ।”

त्यसैगरी नेपालको इतिहास र संस्कृतिका अध्येता हरिप्रसाद सोडारीले वर्तमान नेपाल राज्यका प्रणेता पृथ्वीनाराण शाहप्रति देशले सम्मान प्रदान गर्दै उनको योगदानको थप अध्ययन र अनुसन्धान हुन जरुरी छ भने ।

उता गोरखाबाट आएकी बिसेकी सन्तति तिलकुमारी परियारले तत्कालीन राजालाई समेत सहयोग र सल्लाह गर्नसक्ने बिसेको योगदानकोसमेत उचित कदर हुन नसकेको गुनासो गरिन् । उनले भनिन्, “त्यस समय राजाले दिएको लालमोहर हाम्रा साथमा छ तर हातमा केही छैन ।” उनले बिसेको नाममा गोरखामा एक सङ्ग्रहालय बनाउनुपर्ने बताइन् । आज सो कार्यक्रममा पृथ्वीनारायाण शाहप्रति सम्मान प्रकट गर्न तिलकुमारीसहित शिवशङ्कर परियार, यादव परियार, पूर्णबहादुर परियार र राजु परियार आएका थिए।

उनहरुले देशले इतिहास बिर्संदै गएको महसुस आफूहरुलाई भएकाबेला बिसे नगर्चीका सन्ततिलाई चन्द्रागिरि हिल्सले स्मरण गरी यहाँसम्म आमन्त्रण गरेकामा खुसी लागेको बताए ।

गोरखा माझकोटमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकामाथि विसं १८२६ विजय हासिल गरेपछि आधुनिक नेपालको जग बसालेका थिए । उनको जन्मदिन पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा नेपालभर मनाउने गरिएको छ ।