कांग्रेस महासमिति बैठक शुरुः निर्वाचनमा गठबन्धन गर्ने विषय पेचिलो - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

कांग्रेस महासमिति बैठक शुरुः निर्वाचनमा गठबन्धन गर्ने विषय पेचिलो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् । सोमबार ललितपुरको गोदावारी शुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।

“अहिले हामी गठबन्धनको अभ्यासमा छौं । गठबन्धन सरकार १० महिना अघि मात्र बनेको हैन । प्रतिनिधिसभा विघटन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,’उनले भने, “ वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस भएको सबै दस्ताबेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो ।”

सभापति देउवाले नेपाली कांग्रेसको विधानमा समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे ।

उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशिल दस्ताबेज भएको र यसमाथि जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उल्लेख गरे । उनले जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वयनमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे ।

कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाई छ । ‘अहिले पार्टी ठुलो बनेको छ । सङ्गठन बलियो छ । जनताको आशा भरोसा कांग्रेसप्रति छ । कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,’ उनले भने ।

सभापति देउवाले पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्ताबेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाइएको धारणा राखे ।

महासमिति बैठक सोमबार दिउसोबाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति देउवाले दीप प्रज्वलन गरी बैठक उदघाटन गरेका हुन् । बैठक चार दिन बिहीबारसम्म चल्ने छ ।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्रीसमेत रहनुभएका पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिनेछ । हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइने जनाइएको छ ।

महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ । महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी भएको बताईएको छ । सबै क्षेत्रबाट गरि बैठकमा दुई हजार बढी प्रतिनिधि सहभागी रहेका कंग्रेसले जनाएको छ ।