गगनको प्रतिवेदन : रुख चिह्नमै मतदान, ०८२ मंसिरभित्रै महाधिवेशन - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

गगनको प्रतिवेदन : रुख चिह्नमै मतदान, ०८२ मंसिरभित्रै महाधिवेशन


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् ।

चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने र कुनै पनि कांग्रेसीले कांग्रेसको रुख चिन्हमा बाहेक अन्त भोट हाल्नका लागि दबाब दिन नपाइने भन्दै अडानमा रहँदै आएका थिए । थापाको सो अडानमा अन्तिम समयसम्म डटिरहेपछि बाध्य भएर देउवा पछि हटेपछि थापाले सोही मुद्दासहितको प्रतिवेदन पेश गरेका हुन् ।

मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्नेसमेत बताएका छन् । उनले भने, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

उनको ३८ पृष्ठ लामो प्रतिवेदनमा सांगठनिक अवस्था, सांगठनिक सुधार र कार्ययोजनाका २० बुँदा समेटेका छन् । साथै उनको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने केही विषय र विकल्पलाई समेटेका छन् । जसमा सदस्यता, नेतृत्व चयन प्रक्रिया, समावेशीता, कार्यसमितिको संरचनागत व्यवस्था, उम्मेदवार छनोट प्रक्रिया,, भ्रातृ संघ, शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समितिलगायतका २० विषय समेटिएका छन् ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले विधानको व्यवस्था अनुरूप २०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखे । थापाले महासमितिलगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट प्रक्रिया थालिहाल्नुपर्ने बताएका छन् ।

ूनेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल विधान, २०१७ (संशोधन सहित)को धारा ४३ बमोजिम आगामी २०८२ मंसिर मसान्तभित्र समाप्त हुने छ । अतः महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधान बमोजिम २०८२ मंसिरमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नेछौँ । यस महासमितिपश्चात् लगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट २०८२ मंसिरमा हुने महाधिवेशनको अगाडि विभिन्न तहले सम्पन्न गर्नुपर्ने कामको विस्तृत कार्यतालिका बनाई सोही अनुसार महाधिवेशनका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने गराउने छौँ,ू प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

 

"