चार दलबिच ८ बुँदे सहमति, मन्त्रालय बाँडफाँटको तयारी - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

चार दलबिच ८ बुँदे सहमति, मन्त्रालय बाँडफाँटको तयारी


काठमाडौं । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले, माओवादी, रास्वपा र जसपाको बैठकबाट ८ बुँदे लिखित सहमति भएको हो । सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

दलहरुको सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने, सरकारको नेतृत्व प्रचण्डले नै गर्ने, रिक्त राष्ट्रिय सभाको अध्यक्षमा माओादी केन्द्रका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

नयाँ सहमतिसँगै सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताहरुसहितको पटक–पटक वैठक बसे पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन सकेको छैन् अर्थमन्त्रालयमा एमाले र माओवादी तथा गृह मन्त्रालयमा एमाले र रास्वपाको दाबी छ ।

बाँडफाँड मिलाउन सकस भएपछि चार सदस्यी कार्यदल पनि बनाइएको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट बर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् । मन्त्रालय भागबण्डामा गठबन्धन भित्रका दलले आ–आफ्नो दाबीमा अडिग रहेका कारण भागबण्डा मिल्न नसकेको हो । सोमबार शपथ लिएका मन्त्रिहरुलाई पनि कुनै मन्त्रालयको जिम्मेवारी दिईएको छैन ।

त्यस्तै सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससाग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुक्याउने सहमति भएको छ ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।