कांग्रेस सरकारबाट फिर्ता, उपनिर्वाचनमा एक्लै - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस सरकारबाट फिर्ता, उपनिर्वाचनमा एक्लै


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

उनले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ विश्वासको मत दिएका थियौँ आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ । बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि भयो ।’

त्यस्तै, नेता डा.शेखर कोइरालाले सत्ता गठबन्धन परिवर्तन गर्ने सोमबारको घटना सामान्य नभएको बताएका छन्। प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएको भोलिपल्ट मंगलबार बिहान कोइरालाले यो असामान्य घटना भएको टिप्पणी गरेका हुन्। यो राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने सुझाव उनले दिएका छन्।

कांग्रेसले प्रचण्डले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको निष्कर्ष पनि निकालिसकेको छ । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने क्रममा यस्तो निष्कर्ष निकालेको हो । प्रचण्डलाई काँध नथाप्ने भन्दै सकेको दिन अरूलाई लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको दाबी छ ।

बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले अब २०८४ को निर्वाचन आउनु अगावै बैशाखमा हुने उपनिर्वाचनमै एक्लै चुनाव लड्ने भएको छ ।

यसअघि फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले २०८४ को निर्वाचनमा कुनै गठबन्धन नगर्ने निर्णय गरेको कांग्रेसले राजनीतिक परिस्थिति बदलिएपछि बैशाखमै हुने उपनिर्वाचनमा नै एक्लै चुनाव लड्ने भएको हो ।