फोहरमा चलखेल : एक बिभत्स तस्वीर - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

फोहरमा चलखेल : एक बिभत्स तस्वीर


काठमाडौं । ककनी,बञ्चरेडाँडा क्षेत्रको फोहरमैला प्रभावित क्षेत्रमा स्थानीय जनताले पछिल्लोपटक चैत २४ गते संगठित गरेको आन्दोलनमा सहभागी हुनपुगेका प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीलाई ल्याण्डफिल्ड साइटमा जानत दिइयो, तर उनको साथमा पुगेका सञ्चारकर्मीका लागि त्योे क्षेत्रमा जान निषेध गरियो । सांसद केसी सडकमा जम्मा भएका स्थानीय जनतालाई सम्बोधन गरेर फर्किए । यो फोहर फाल्ने क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा पत्रकारका लागि प्रवेश निषेध गरिएको हो ।

यतिबेला राजधानी सफा छ । फोहोर बोकेका टिपरहरूको लर्को बञ्चरेडाँडा उक्लिने क्रम निरन्तर छ । जनताले संगठित गरेको एक दिने आन्दोलनलाई बल प्रयोग गरेर रोके पछिको समयमा बञ्चरे डाँडाको खाल्डो तीव्र गतिमा फोहोरको पहाड बन्दैछ । यतिबेला, सामाजिक सञ्जाल, मिडिया र अधिकारकर्मीहरू मौन छन् । यो सबै देख्दा मनमा प्रश्न उठछ : के साँच्चै फोहोरमैला समस्या समाधान भएको हो त ? होइन ।

राजनीति र प्रशासनको पर्दाभित्र के कस्तो खेल चलिरहेको छ? अनुमान लगाउन सकिन्छ । सिसडोल र बञ्चरेमा ज्यादति र दुर्गति उस्तै छ ।

स्थानीय बासिन्दाः स्थानीय सरकार

यतिबेला बालेन सरकारको जागिरमा भर्ति हुन पाएका फोहोरमैला प्रभावित क्षेत्रका केही स्थानीय बासिन्दामा निकै जोश निकै देखिन्छ । फोहोरमाथि रजगज चलाउँदै आएका रमाएका छन । बाँकी रहेका नीरिह प्राणी, मानव र वातावरण माथि अत्याचार यथावत् छ । आफ्नो क्षेत्रमा फोहोरमैला थुपारेपछि आफनो समस्या आफैं समाधान गर्ने उद्देश्य राखेर अगाडि बढेको ककनीको स्थानीय सरकारले फोहोरमैलामा कर सङ्कलन गर्ने निर्णय ग¥यो ।

त्यो निर्णयमा माननीय न्यायाधीश ईश्वरीप्रसाद खतिवडाले अन्तरिम आदेश जारी गर्दै २०८० साउन १ गते निर्णयमा छेकबार लगाइ सकेका थिए । २०८० फाल्गुन २१ मा ११ बुँदे मागपत्र अघि सारेर चैत्र २४ गतेदेखि आन्दोलन थालेका नेपाली काङ्ग्रेस नेता श्रीराम ढुंगाना पक्राउ परेर छुटेपछि आन्दोलन सुस्ताएको छ ।

बालेन सरकारको भूमिका

काठमाडौँको फोहोरमैलाको समस्यालाई प्रचारबाजीको अस्त्र बनाएर उदाएका बालेन साहले फोहोरमा राजनीतिको कुटिल चाल चलिरहेका छन । कहिल प्रभावित क्षेत्रका नागरिक र सरकारबीच द्वन्द्व सिर्जना गर्न त कहिले नागरिक नागरिक बीचमा द्वन्द्व उत्पन्न गराउन लागेका छन मेयर साह । उनले २०८० कार्तिक १५ गते आयोजना गरिएको मेयर फोरम बैठक बहिस्कार गरे । यसको कारण थियो : फोहोरमैलाको ठेक्का। कहिले अस्पतालको फोहोर नउठाउने, कहिले जैविक मल उत्पादन गर्नेभन्दै फोहोर ‘कम्पोस्टिङ’ गरेको हल्ला मच्चाएर आफ्नो पौरख देखाउने । फोहोर व्यवस्थापन अध्ययनको नाममा महानगरका कर्मचारीको तीर्थयात्राको क्रम रोकिएको छैन ।

नेपाल सरकारको वातावरण विभागले २०८० साउन भदौमा नास्टका वैज्ञानिकहरू लगाएर गरेको अध्ययन प्रतितवेदनको यथार्थ रिपोर्टमा कैँची लगाउन बजेट निकासाको हलो अड्काएर राखिएको छ । फोहोर ब्यबस्थापनका लागि बैज्ञानिक पध्दति अपनाउन क्षमता सम्पन्न‘नेपवेस्ट’ योजना रोक्ने अभियानमा बालेन सेना दलबलसहित अहोरात्र खटिरहेको छ ।

उपत्यका मेयर फोरम

यतिबेला ललितपुर महानगरका मेयर चिरिवावु महर्जन सिसडोल बञ्चरेमा फोहोर बिसर्जन गर्न बनाइएको मेयर फोरमको अध्यक्ष छन् । मेयर बालेनले उनको नेतृत्वको मानमर्दन गर्दै ललितपुरका मेयर नेपवेस्टको पैसामा कुदिरहेको आरोप मेयर बालेनले लगाएका छन् । चिरिबाबु उपत्यकाको फोहोर बिसर्जनमा कुनै स्थान नपाइएकाले सिसडोल बञ्चरेको सहज र वैज्ञानिक व्यवस्थापनको उपाय खोजीमा तल्लिन छन् ।

नेपवेस्ट

फोहोर व्यवस्थापनको बृहत् योजनामा रहेको यो कम्पनीका मालिकहरूलाई राजनीतिमा नियमित झैं हुने गरेका उथलपुथलले बेलाबखत झस्काएको छ । तैपनि विश्वस्त स्रोत र राजनीतिक शक्ति केन्द्रका पारिवारिक सदस्यहरूले विस्वास दिलाएपछि काम तमाम हुने निश्चित गरेर उग्राइरहेको छ । बिशेष सूत्रका अनुसार, प्रधानमन्त्री प्रचण्डले नेपवेष्ट प्रस्तावको मूल्यांकनका लागि अर्थमन्त्री बर्षमान पुनलाई जिम्मा दिनुभएको छ । नेपवेस्टको बैधानिक गतिविधि व्दारिका होटल समूहले गरेकोछ ।