गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ : डा.संग्रौला - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ : डा.संग्रौला


सिन्धुपाल्चोक । नेपाली कांंग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव रहेकाले यो कर्मकाण्डीमा सिमित हुने दावी गरेकी छिन् ।

उनले वर्तमान सरकार कर्मकाण्डी प्रवृत्तिमा लागि परेको पनि वतइन । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा.संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने, अधिकांश कार्यक्रम पुरानै दोहोरिएको र कार्यान्वयन गर्नका लागि सरकारसँग आर्थिक क्षमता कमजोर देखिएको बताइन ।

‘नीति तथा कार्यक्रममा आम्दानीका दायरा विस्तार गर्न सकेको देखिदैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न सक्ने देखिदैन,’ डा. संग्रौलाको भनाइ थियो ।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेटको जग्गाका सट्टापट्टा गर्ने मिल्ने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेकाले त्यसक्रममा भएको अनियमिततामाथि छानवीन गर्न माग गरिन ।

वर्तमान सरकार कर्मकान्डी र कागजी प्रक्रिया पुर्‍याउन मात्रै लागि परेको बताएकी उनले सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने आरोप लगाइन । ‘एमाले, माओवादीलगायतको सरकार नागरिकप्रति उत्तरदायी छैन् । सत्ता टिकाउने खेलमा मात्रै सिमित छ । देशभर अनियमितता र व्यथिति मौलाएको छ । सहकारीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। गृहमन्त्री आफैं सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन् । तर सरकार भने ढाकछोपमा लागिपरेको छ,’ डा.संग्रौलाले भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागेपछि पदमा बसिरहनु नैतिक रुपले नहुने भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने सग्रौलाले बताइन् ।

नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैं काम गर्ने पार्टी भएकाले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा पार्टीको सबै तह सक्रिय बन्न सुझाव दिइन । पार्टीको संगठनलाई बजबुद बनाएर लगे नेपाली काङ्ग्रेसले निर्वाचन कहिले नहार्ने उनको जिकीर छ ।

कार्यक्रममा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पार्टीको जिम्मेवारीसँगै नगरबासीको हितमा काम गरिरहेको बताए । कांग्रेसले निर्वाचन जितेपछि बाह्रबिसे नगरपालिकामा नगरवासीको बिकास र हितको लागि सँधै लागि परेको बस्नेतले बताए ।

विभिन्न जिल्लामा कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट एवम अन्तरक्रिया कार्यक्रमका लागि बुधबारबाट साताब्यापी भ्रमणमा निस्किएकी डा. संग्रौलाले बुधबार नै काभ्रेमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेकी थिइन । तेमालमा जिल्ला कार्य समिति काभ्रेको मासिक घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले सम्बोध गरेकी थिइन । केन्द्रीय सदस्य डा.संग्रौला विहीबार दोलखाको चरिकोटमा आयोजना गरिएको कांग्रेस अगुवाहरुको भेटघाटमा सहभागि हुने कार्यक्रम तय भएको छ ।

"