कैलाश सिरोहियालाई धनुषा लगियो, पक्राउबारे आपत्ति - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

कैलाश सिरोहियालाई धनुषा लगियो, पक्राउबारे आपत्ति


काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ । मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको हो ।

प्रहरीले कान्तिपुर मुख्यालयबाट सिरोहियाकै गाडीमा राखेर उनलाई लगेको थियो । तर, अहिले प्रहरीको गाडीमा राखेर धनुषातर्फ लगिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए

‘त्यहाँ भीड भएको हुँदा हामीले गाडीमा यहाँ ल्याएका थियौँ । अहिले प्रहरीको गाडीमा राखेर लगिएको छ,’रेग्मीले भने । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता किर्तेको उजुरी छ ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगी सिरोहियालाई पक्राउ गरेको हो । उनी कार्यकक्षमै पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न अपरान्ह प्रहरीको टोली कान्तिपुर ग्रुपमा पुगेकामा प्रक्रिया पूरा गरी साँझ ६ः३० बजे नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले पक्राउ पुर्जी थमाएर प्रक्रिया पूरा गरी कार्यालयबाट पक्राउ गरेको हो । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले आजै अनुमति दिएको थियो । सिरोहियाले भने समाचार लेखेको प्रसिशोध साँघेर आफुलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट आफ्नो समूह विचलित नहुने पनि उनको दाबी छ । तर सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका छन् ।

उनले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट भने आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने प्रस्ट पारेका छन् ।

सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन् ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।