टिप्पणी : घासीरामका छोरा कैलाश - रुपान्तरण
 २०८१ श्रावण ९, बुधबार    

टिप्पणी : घासीरामका छोरा कैलाश


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले कान्तिपुर प्रकाशनका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको बात लगाएर गिरफतार गरेपछि जन–मानस बिथोलिएको छ । जनमत पार्टीका नेता तथा पत्रकार बीपी साहका अनुसार कैलाश सिरोहियाका पिता घासीराम सिरोहिया २००९ सालमा स्थापित जनकपुर उद्योग बाणिज्य संघका संस्थापक महासचिव थिए । २०३२ सालतिर घासीरामव्दारा स्थापित तेल मिल चर्चित थियो । २०३५–३६ सालतिर जनकपुरमा स्थापित सिरोहिया फर्निचरमा कैलाश सक्रिय थिए । पछि, उनैले काठमाडौंमा सिरोहिया फर्निचर्सले टिकउडका फर्निचरहरुको ब्यापार प्रबध्र्दन शुरु गरेका थिए ।

अब अहिले उनै सिरोहिया नागरिकता बिबादमा गिरफतार हुन पुगेका छन । एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका प्रिय पात्रका रुपमा प्रचण्ड सरकारका गृहमन्त्रीको निर्देशनमा उनीबिरुध्द कारवाही शुरु भएको छ । यतिबेला प्रधानमन्त्री प्रचण्ड चाहेर पनि केही बोल्नसक्ने अवस्थामा देखिनु हुन्न । यद्यपि, हाम्रो राजनीतिक ब्यबस्थामा राज्यको सम्पूर्ण शक्ति प्रधानमन्त्रीमा केन्द्रीत छ । उहाँले नारीलाई पुरुष र पुरुषलाई नारी बनाउनपनि सक्नुहुन्छ । तर, अहिले उहाँ मौन हुनुहुन्छ । उहाँको अहिलेको अवस्था ‘कहूँतो माँ मरजाये, ना कहूँतो बापकुत्ता काट खाये’ भन्दा फरक छैन । गृहमन्त्रीलाई चलाउँदा एमाले अध्यक्ष रिसाउने र भर्खरै लिएको बिश्वासको मत खेर जाने, नचलाउँदा राज्यको चौथो अंगका रुपमा स्वीकृत पत्रकारिताको मान–मर्दन हुने । यही त्राशले अहिले प्रधानमन्त्री प्रचण्डलाई गाँजेको हुनुपर्दछ ।

कैलाश सिरोहिया ब्यबसायी हुन । पहिले कार्पेट ब्यबसायमा थिए । अहिले मिडिया ब्यबसायमा छन । उनी आदर्शवादी युगका भारतीय प्रकाशकहरु रामनाथ गोयन्का (दि इण्डियन एक्सप्रेस) पनि होइनन र साहू जैन (दि टाइम्स अफ इण्डिया) पनि होइनन । गोयन्का र जैनले ब्यबसायका रुपमा पत्रकारिताको प्रकाशन गरेका थिएनन । कैलाशको तुलना ती ब्यबसायीहरुसंग गर्नु अन्याय हुनेछ ।

एकताका उनका प्रकाशनहरुले कांग्रेस–माओवादी समीकरणमा बनेको सरकारका अर्थमन्त्री जनार्दन शर्माको उछित्तो काटेका थिए । त्यतिबेला जनार्दन शर्मा शान्त रहे । कैलाशकाबिरुध्द हो–हल्ला पनि गरेनन र बदलाको भावना राखेर कामपनि गरेनन । कान्तिपुरका प्रकाशनहरुले शर्माका बिरुध्द लेखिरहे । सरकार परिवर्तनपछि त्यो चरण सकियो ।

अहिलेको चरणमा कैलाशका प्रकाशनहरुले गृहमन्त्रीले देखाएका र चलाएका काम र कर्तब्यका नौटंकीहरु प्रकाशित गरेका छन । पढेर, देखेर, सुनेर गृहमन्त्री मुर्मुरिएका छन । स्वाभाबिक हो आफनो बद्ख्वाई गरेको पढेर, देखेर, सुनेर सबै आक्रोशित हुन्छन । गृहमन्त्री पनि आक्रोशित छन । मुर्मुरिएका छन । उनका समर्थकहरु त उनी भन्दा पनि उग्र छन । अब त, काठमाडौंका सडकमा कैलाशलाई फाँसी दे भन्ने नारा लाग्यो भनेपनि आश्चर्य मान्नु पर्दैन । कैलाशकाबिरुध्द गृहमन्त्रीले देखाएको यो तमासा घीनलाग्दो गरी गिजोलिएको छ ।

सुनिन्छ, अचेल प्रधानमन्त्री प्रचण्डको आन्तरिक घेरामा नयाँ पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक कृष्णज्वाला देवकोटाको पनि उपस्थिति रहने गर्दछ । त्यो सत्य हो भने देवकोटाले यो घीनलाग्दो प्रकरणको अन्त्यगर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाएकै हुनुपर्दछ । तर, प्रधानमन्त्री प्रचण्डका कतिपय बाध्यता होलान । देश समस्याहरुको थुप्रोमा छ । यस्तोमा गृहमन्त्रीलाई चलाउँदा सरकारका मुख्य नायक रिसाउने भय त छँदैछ । त्यो भयबाट प्रधानमन्त्री प्रचण्ड मुक्त हुन कठिन छ । चारपटक बिश्वासको मत लिएर अहिलेको चरणमा आइपुग्दासम्म उहाँको दायित्व बढेका छन । उहाँलाई चन्द्रागिरिदेखि शिवपुरीसम्म छरिएर रहेका बिभिन्न ‘इन्ट्रेस्ट’ हरुले घेरेका छन । एकातिर, एनसेल र उसको पूँजीको प्रश्न छ । अर्कोतिर, एनटीसीको अनियमितता र घाटाको समस्या छ । उहाँले पूरा गर्नुपर्ने राष्ट्रिय तहका अरु धेरै इन्ट्रेष्ट छन । यी त प्रधानमन्त्री प्रचण्डका इन्ट्रेष्ट भए । अब उहाँका सत्ता साझेदारहरुका पनि बिबिध इन्ट्रेष्ट छन । ती इन्ट्रेष्ट पूरा गर्ने शर्तमा नै त प्रचण्डले प्रधानमन्त्रीको शपथ लिनु भएको होला ।

जे होस, यो अप्रिय विवादको छिटो अन्त्य होस । हामी पत्रकारहरु त्यो पुरानै युगमा फर्किन तयार छौं जतिबेला पत्रिकामा छापिएको प्रधानमन्त्री प्रचण्डको तस्वीर अनुमानकै भरमा चिन्नु पर्दथ्यो । प्रधानमन्त्री प्रचण्डको सरकारका गृहमन्त्रीले प्रेसका बिरुध्द यति ठूलो ताण्डवको रचना गरीसके । तर, प्रधानमन्त्री प्रचण्डले त्यसको छनकसम्म पनि पाउनु भएको छैन जस्तो छ ।