सहकारी ठगी विरुद्ध सडकमा कांग्रेस - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

सहकारी ठगी विरुद्ध सडकमा कांग्रेस


काठमाडौं । सरकारी अधिनायकवाद, अनुदारवाद र अलोकतान्त्रिक रवैया तथा सहकारी ठगी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारदेखि सशक्त सडक आन्दोलन थालेको छ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको हो ।

राजधानीको भृकुटीमण्डपमा हजारौँको सहभागीतामा कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन भएको छ । १५ निर्वाचन क्षेत्रबाट भेला भएर भृकुटीमण्डपमा वृहत कार्यक्रम गरेको हो ।

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो ।

कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको हो ।

कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ । सरकार भने कांग्रेसको माग दबाउँदै जतिसक्यो बढी नेपाली सहकारी पीडितलाई अझ बढी पीडामा पार्ने योजनामा लागेको कांग्रेसको बुझाइ छ ।

अधिकांश सहकारीका मालिकहरु एमालेका रहेकाले रविको छानबिन हुनासाथ एमालेका नेता कार्यकर्ता पनि फस्ने भएकाले यो विषयलाई गौण नै राख्न खोजिएको छ ।

छानबिन समिति बनाए पनि व्यक्तिको नाम नतोकी गर्नुपर्नेमा सत्ता गठबन्धनको जोड छ । कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ ।

हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएकोसमेत उल्लेख गरेको छ । प्रदर्शनपछिको कोणसभामा कांग्रेस नेताहरु सम्बोध गरे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न आफ्ना पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाए ।

“तपाईंकै एमालेका कैयौँ साथीहरू – जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन्,” शर्माले भने, “नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ ।”

उनले सरकारको अंकगणितका कारण ओली लामिछानेको बचाउमा उभिएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई ०८४ मा पुग्दा उभिन नसक्ने गरी खुल्याउने ओलीको दाउ रहेको उनको भनाइ छ ।