डा.सुरेश आचार्यलाई स्वतन्त्रता सेनानी सम्मान - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

डा.सुरेश आचार्यलाई स्वतन्त्रता सेनानी सम्मान


फिदिम । नेपाल पत्रकार महासंघ पाँचथरले प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मानबाट डाक्टर सुरेश आचार्य सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति आचार्यलाई ३३ हजार ३ सय ३३ रुपैंया राशी सहितको स्वतन्त्रता सेनानी सम्मान गरिएको हो । स्वतन्त्रता सेनानी सम्मान नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रत्येक वर्ष अर्पण गर्दै आएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर वकाललत गर्दै आएका एकजना पत्रकारलाई वर्षेनी प्रदान गरिने यो सम्मान यसअघि पत्रकार महासंघका पूर्वसभापतिहरु विष्णु निष्ठूरी, किशोर नेपाल, हरिहर विरही, धर्मेन्द्र झा, शिव गाउँले र डाक्टर महेन्द्र विष्टलाई अर्पण गरिइसकेको महासंघको पाँचथर शाखाले जनाएको छ ।

यो सँगै २५ हजार रुपैंया राशीको फिदिम नगर विकास पत्रकारिता पुरस्कारबाट रेडियो मितेरी पाँचथरका स्टेशन म्यानेजर खबिन लुइटेल, १० हजार राशीको स्वर्गीय हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट रेडियो नेपालकी पाँचथर सम्बादाता दुर्गा खनाल र १० हजार राशीकै स्वर्गीय प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो नेपालकै शन्देस सुब्बालाई प्रदान गरिएको छ ।

पत्रकारहरुलाई कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावती,जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदेम्वे र फिदिम नगरपालिकाका प्रमूख मित्रप्रसाद काफ्ले लगायतले सम्मान र पुरस्कार प्रदान गरेका थिए । यसैविच पत्रकार महासंघ पाँचथरले फिदिममा मंगलबार मिडिया सम्मेलनसँगै पत्रकारको स्वास्थ्य परिक्षण र शाखाले प्रकाशन गरेको पत्रकारिता नामक पुस्तक पनि लोकार्पण गराएको छ ।