संघीयता बलियो बनाउने पक्षमा कांग्रेस छ, कमजोर बनाउनेहरु सत्तामा छन : डा.डिला संग्रौला - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

संघीयता बलियो बनाउने पक्षमा कांग्रेस छ, कमजोर बनाउनेहरु सत्तामा छन : डा.डिला संग्रौला


नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी छिन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको बताइन ।

‘आजको लडाई संघीयतालाई बलियो बनाउने कि नबनाउने भन्ने बीच छ । बलियो बनाउने पक्षमा कांग्रेस उभिएको छ । अन्य दललाई पनि हामीले सहकार्य गरेका छौँं,’ उनले भनिन्, ‘नबनाउने पक्षमा सर्वसत्तावादको बाटोमा विधि, ऐन र कानुन मिच्नेहरु अहिलेको सरकार लागेको छ ।’

डा.संग्रौलाले मुलुकमा समृद्धि र विकास दिने संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकसित र संस्थागत गर्दै लैजाने पद्धतिमा कांग्रेस उभिएको बताइन् ।
उनले कांग्रेसले निर्वाचन जितेका स्थानीय तहमा जनताका सवाल र जनजीविकालाई जोड्नु पर्नेमा जोड दिइन् ।

‘हामी प्रदेश र संघमा प्रतिपक्षमा छौँ । जहाँ स्थानीय तहमा जित्नुभएको छ त्यहाँ जनताका सवाल जनजीविकालाई जोड्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘त्यो अबको आवश्यकता हो ।’

कार्यक्रममा उनले उपप्रधान एव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिइन । कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीका भागीदार बन्नुपर्ने बताइन ।

त्यस्तै डा।संग्रौंलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताइन ‘बजेट कर्मकाण्डी मात्र देखिन्छ । बजेटरी सुधार केही छैन । बजेट कनिका छर्ने प्रबृत्तिको छ । आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा छन भने ठूला आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको छैन । यसबाट उत्साहित हुने अवस्था छैन, ‘ उनले भनिन ।

उनले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र आवाज उठाउने अभियानमा जुटेको बताइन । समृद्ध एवम समुन्नत नेपाल र सम्मानित नेपाली पार्टीको ध्येय भएको उल्लेख गर्दै डा।संग्रौलाले प्रतिपक्षमा बसेर जनताका भावना र चाहना बोलिरहने प्रतिबद्धता जनाइन । जनता र जनजीविकाका सवालमा कांग्रेसले काम गर्नुपर्ने उनको भनाइ छ ।

नेपालगन्ज सुर्खेत हुँदै कर्णालीका जिल्ला भ्रमणमा रहेकी डा।संग्रौलासँगै पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह छन् ।