सङ्क्रमण रोक्ने हर सम्भव उपायहरू अपनाउन कांग्रेसको आग्रह - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

सङ्क्रमण रोक्ने हर सम्भव उपायहरू अपनाउन कांग्रेसको आग्रह


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको गति व्यापक रूपमा बढेको र देश सङ्क्रमणको चपेटामा परेको भन्दै परिस्थितिलाई थप जटिल हुन नदिनका लागि हरसम्भव उपाय प्रयोग गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार एक विज्ञप्ति जारी गर्दै देश दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको भन्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

‘सङ्क्रमण दर तीव्र गतिमा बढेको छ भने सङ्क्रमणका गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको सङ्ख्या पनि बढ्दो छ, अहिले युवाहरूमा पनि सङ्क्रमण उल्लेख्य रूपमा बढेको छ, सङ्क्रमितहरूको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘यस अवस्थामा, परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को सङ्क्रमणलाई रोक्ने हर सम्भव उपायहरू गर्न म सरकारसँग माग गर्दछु ।’

देउवाले सङ्क्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने सन्दर्भमा पनि आवश्यक व्यवस्था मिलाउन सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् ।

यस्तै आम नागरिकहरूलाई कोभिड-१९ को सङ्क्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै देउवाले त्यस तर्फ पनि थप आवश्यक कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा मित्रराष्ट्र भारतबाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठुलो राहत महसुस भएको र पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदै गरेको प्रति सो सहयोगका लागि दुवै मीत्रराष्ट्रहरुलाई धन्यवाद समेत दिएका छन् ।

‘देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझ ठुलो सङ्ख्यामा खोपको आवश्यकता छ, चाँडो भन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कूटनैतिक सक्रियता बढाउन सरकारसँग माग गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

‘विकसित मीत्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरूसँग आ-आफ्नो देशहरूको आवश्यकता भन्दा पनि बढी सङ्ख्यामा अग्रिम बुकिङ सुरक्षित गरेका अवस्था’ रहेको भन्दै देउवाले ‘अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई वुकिङ्ग भएको सङ्ख्यामध्येबाट खोप सुविधा उपलब्ध गराउन’ पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग अनुरोध गरेका छन् ।