महेश वस्नेतविरुद्ध उत्रिएकी शोभा प्रहरी नियन्त्रणमा - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

महेश वस्नेतविरुद्ध उत्रिएकी शोभा प्रहरी नियन्त्रणमा


काठमाडौं । धादिङकी शोभा पाठक पक्राउ परेकी छन्। पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन्। प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

उनीमाथि सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरी छ। एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन्। तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो। सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छन्।

सोमबारै पक्राउ परेकी पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसअघि बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको थियो । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी दर्ता थियो ।

युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी थिइन। उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका थिए ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको थियो ।

तर वस्नेतविरुद्ध प्रहरीले मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण नरहेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यायलले तामेलीमा राख्ने निर्णय गरेको थियो । ‘पछि ठोस प्रमाण प्राप्त भएमा मुद्दा चल्न पनि सक्छ,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘तत्काल मुद्दा चल्न सक्ने अवस्था देखिएन।’

प्रहरीका अनुसार, पहिला ती महिलाले आफूहरूलाई बद्नाम गर्न खोजेको भन्दै उजुरी दिएकी थिइन्। पछि उही विषयमा पीडित भएको भनेर उजुरी पठाए पनि उनले दाबी गरेका आधार तथ्यमा आधारित नभएको पाइएको प्रहरीको भनाइ छ।