काठमाडौँ । मंगलबार नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔँ जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।
कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा पुगेका थिए । ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले स्वागत गरेका थिए ।
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएपछि दुई दलबीचको सम्बन्ध सुमधुर बन्दै गएको छ । नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् । यता, नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै आजसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । नयाँ समीकरणमा सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् ।
दशकौंदेखि नेपाली सत्ता र संसदीय राजनीतिका प्रमुख खेलाडी नेपाली कांग्रेस तथा नेकपा एमालेबीच असाधारण ढंगले सत्ता सहकार्यको सहमति भएको यो घटना निकै दुर्लभ पनि मानिएको छ । सामान्यतया राजनीतिमा संसद्को पहिलो र दोस्रो दल एकैपटक सरकारमा जाँदैनन् । तर, २०७० मा एमाले सुशील कोइराला नेतृत्वको सरकारमा गएपछि २०७२ सालमा संविधानसभाबाट संविधान बन्न सफल भएको थियो ।
२०७२ मा संविधान जारी गर्न भूमिका खेलेका दुई दलहबीच फेरि संविधान संशोधनसहितका एजेन्डा बोकेर सत्ता सहकार्यको सहमतिमा पुगेका हुन् । यस क्रममा संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई सुधार गर्ने र २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले लिने समझदारी भएको छ ।
साना दलको बार्गेनिङ धेरै भएको र नागरिकमा निराशा छाएकाले पहिले मिलेर बनाएको संविधान संशोधनको बहानामा कांग्रेस–एमाले मिल्न लागेका हुन् ।कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत यतिखेर कांग्रेस र एमाले मिल्नु राष्ट्रिय आवश्यकता भएको बताउँछन् । पछिल्लो सहमति निर्माणमा खटेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि यसपटकको सहकार्यको तयारी सत्ताका लागि मात्रै नभएको बताए ।
तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथका लागि दिल्ली पुगेर फर्किएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा देउवासँग छलफल गरेको सूचना ओलीसम्म पुग्यो । सोही सूचनापछि ओली झस्किएर कांग्रेससँग संवादमा जोडिएको एमाले नेताहरू बताउँछन् ।
यता, प्रचण्डले पालैपालो धोका दिएको साझा बुझाइमा ओली र देउवा पुगेपछि पछिल्लो समीकरण बनेको नेताहरू बताउँछन् । अर्कातिर सरकारमै गृहमन्त्री रहेका रवि लामिछानेले कतिपय आधारहीन विषयमा पनि भ्रष्टाचारको मुद्दा लगाउँछु भनेर तर्साउने काम गरेपछि कांग्रेस मात्रै होइन एमालेका नेताहरू समेत असन्तुष्ट थिए । रविले खुलेरै संसदमा आरजुलाई जेल हाल्छु मात्रै भनेनन्, गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमालेमाथि पनि फायर खोल्छु भनेर चेतावनी दिए ।
सहकारी ठगीको गम्भीर घटनामा रवि जोडिएपछि उनले आफूमाथिको अनुसन्धान कमजोर बनाउन पनि दलहरूसँग बार्गेनिङ र दबाबको नीति लिएको नेताहरू दाबी गर्छन् । यतिमात्रै होइन, काठमाडौं महानगरको मेयरमा जितेयता बालेन साहले दलहरूमाथि उत्पन्न गराएको आक्रोश र आरोपबाट समेत नेताहरू आजित बनेको बताइन्छ ।
विधि–विधान नमान्ने, तर नागरिकलाई भड्काउने गरी सामाजिक सञ्जाल दुरुपयोग गरेको विषय पनि कांग्रेस र एमालेको साझा टाउको दुखाइ बन्न पुगेका थिए । बालेनले कहिले सिंहदरबार जलाउने त कहिले शीर्ष नेतामाथि फायर खोल्ने काम गर्दै आएका छन् ।