बाढीले वितन्डा, जनजीवन अस्तव्यस्त - रुपान्तरण
 २०८१ मंसिर २५, मंगलबार    

बाढीले वितन्डा, जनजीवन अस्तव्यस्त


काठमाडौँ । निरन्तरको वर्षातका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको छ । काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ ।

बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरूलाई शतर्कत रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्वासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ ।

साथै नदी छेउका सडकहरू डुबानमा परेका छन् । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।

बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ । यस्तै कुपण्डोल पुल मुनिको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।

शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र च्यासल क्षेत्रमा रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आशिंक प्रभाव परेको छ ।

यस्तै धापाखेलस्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने संभावना रहेकाले संयमित भएर सीमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

उता, रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ७ बजे उक्त खहरे खोला तर्ने क्रममा सोही स्थानका ६५ वर्षीया जालमाया रुचाल मगर र उनकी भदिनी अन्दाजी ५ वर्षीया सेतीमाया रुचाल मगरको मृत्यु भएको हो ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पसेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए ।

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् ।